समाचार

एक शरीर, दुई टाउको र चार आँखा ! गुजरातमा भेटियो दुर्लभ सर्प

 भारतको गुजरातमा एकै शरीरमा दुई टाउको र चार आँखा भएको दुर्लभ सर्प फेला परेको छ।

गुजरातको दाहोद जिल्लास्थित धानपुर तालुकाको अगसवानी गाउँको खेतमा करिब ६ इन्च लामो सर्पको बच्चा भेटिएको हो। स्थानीयले जानकारी गराएपछि दाहोद प्रकृति मित्र मण्डलको टोलीले उक्त सर्पलाई सुरक्षित उद्धार गरेको जनाइएको छ। उद्धार गरिएको सर्पलाई ‘वुल्फ स्नेक’ भनिएको छ। यो विषालु सर्प नभएको प्रकृति मित्र मण्डलले जनाएको छ।

विशेषज्ञका अनुसार एउटै शरीरमा दुईवटा टाउको विकास हुने अवस्थालाई वैज्ञानिक भाषामा ‘बाइसेफली’ भनिन्छ। यस्तो अवस्थामा एउटै शरीरमा दुई अलग टाउको र चार आँखा विकास हुन्छन्।

प्रकृति मित्र मण्डलका अनुसार आनुवंशिक विकृतिका कारण लाखौँ जीवमध्ये अत्यन्त दुर्लभ अवस्थामा दुई टाउको भएको जीव जन्मिन सक्छ। दुईवटै टाउकोमा छुट्टाछुट्टै मस्तिष्क तथा स्नायु प्रणाली हुने भएकाले यस्ता जीवलाई दिशा र आहार छनोटमा समस्या हुन सक्ने बताइएको छ।

दाहोदमा यस्तो सर्प पहिलोपटक फेला परेको दाबी गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा यसअघि दुईवटा दुई टाउके कोब्रा र तीनवटा वुल्फ स्नेक भेटिएको विवरण सार्वजनिक भएको छ।

उद्धार गरिएको सर्प करिब एक वर्षको हुन सक्ने अनुमान गरिएको छ। यसको संरक्षण तथा आवश्यक हेरचाहका लागि सम्बन्धित पक्षले आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button