महालक्ष्मी व्रत समापनः धन र ऐश्वर्य पुनः प्राप्तीकाे धार्मिक विश्वास

काठमाडाैं, १७ असाेज । महालक्ष्मी व्रतको धार्मिक तथा पौराणिक मान्यताहरू अत्यन्तै उच्च मानिन्छन्। सनातन संस्कृतिमा यो व्रतलाई सुख, समृद्धि, ऐश्वर्य र सौभाग्य प्राप्तिको अमोघ साधन मानिएको छ। धार्मिक विश्वास अनुसार १६ दिनसम्म विधिपूर्वक नियममा बसेर महालक्ष्मी देवीको उपासना गर्नाले घरमा दरिद्रता, अशान्ति र अभावको नाश भई धन, धान्य, मान-सम्मान र दीर्घायु प्राप्त हुन्छ।
पौराणिक मान्यता अनुसार महाभारत कालमा कौरवहरूसँग जुवामा सर्वस्व गुमाएपछि पाण्डवहरू वनवासमा छँदा चिन्तित युधिष्ठिरलाई भगवान श्रीकृष्णले यो महालक्ष्मी व्रत बस्ने सल्लाह दिनुभएको थियो। श्रीकृष्णको आज्ञा अनुसार पाण्डवहरूले यो व्रत पूरा गरी आफ्नो हराएको राज्य र ऐश्वर्य पुनः प्राप्त गरेका थिए भन्ने कथा पाइन्छ।
अर्को पौराणिक कथा अनुसार एक गरिब ब्राह्मणलाई भगवान विष्णुले महालक्ष्मीको कृपा प्राप्त गर्न यो १६ दिने व्रत बस्ने विधि बताउनुभएको थियो। ब्राह्मणले भक्तिपूर्वक व्रत पूरा गरेपछि माता लक्ष्मी उनीमाथि प्रसन्न भई अपार धन-सम्पत्ति प्रदान गरेका थिए ।
यस व्रतमा १६ अङ्कको विशेष धार्मिक र आध्यात्मिक महत्त्व छ। सोह्र दिनको अवधि, सोह्र गाँठो पारिएको धागो (डोरो), १६ वटा पकवान, १६ वटा फलफूल र १६ पटक अर्घ्य दिइन्छ। १६ अङ्कलाई सोह्र कला वा पूर्णताको प्रतीक मानिन्छ, जसले जीवनमा सम्पूर्ण सुख-सुविधाको प्रतिनिधित्व गर्दछ। धार्मिक दृष्टिले यो व्रत केवल धन प्राप्तिका लागि मात्र नभई मन, वचन र कर्मलाई पवित्र बनाउने माध्यम पनि हो। १६ दिनसम्म सात्त्विक आहार, नियम र संयममा रहनाले व्यक्तिमा सकारात्मक ऊर्जा र आध्यात्मिक चेतनाको विकास हुन्छ।
महालक्ष्मी व्रत तथा पूजाको समाप्ति (उद्यापन) सँग सम्बन्धित मुख्य कुरा यस्ता रहेका छन ।
व्रतको अवधि: महालक्ष्मी व्रत भाद्र शुक्ल अष्टमी (दुर्गाष्टमी/महालक्ष्मी अष्टमी) बाट सुरु भई आश्विन कृष्ण अष्टमी सम्म कुल १६ दिन चल्ने गर्दछ।
समाप्ति (विसर्जन/उद्यापन) दिन: १६औँ दिन अर्थात् आश्विन कृष्ण अष्टमीका दिन पूजा-आजा समाप्त गरी साङ्गता/उद्यापन गरिन्छ।
डोर बाँध्ने र फुकाउने विधि: व्रतको पहिलो दिन पाखुरा वा नाडीमा बाँधिएको १६ गाँठो भएको सूत्र (डोरो) लाई समापनका दिन पूजा गरी विशेष मन्त्रोच्चारणका साथ फुकाइन्छ र देवीको चरणमा समर्पण गरिन्छ।
विशेष अर्घ्य र सामग्री: १६औँ दिन माता महालक्ष्मीको विशेष सिँगार, १६ वटा पकवान (विशेष गरी खिर, मालपुवा, हलुवा), १६ वटा फलफूल, फूल र धूप-दीप अर्पण गरी अर्घ्य दिने परम्परा छ।
दान र उद्यापन: पूजा समापनपछि १६ जना ब्राह्मण, कुंवारी कन्या वा सासू/जेठानीलाई १६ वटा गहुँ/धानका सामग्री, वस्त्र र दक्षिणा दान गरी व्रतको उद्यापन पूरा गरिन्छ।
पारणा: समाप्ति पूजा र अर्घ्य अर्पणपछि माता महालक्ष्मीको प्रसाद ग्रहण गरी व्रतको पारणा गरिन्छ।



