बार्सिलोनाले रेफ्रीलाई घुस खुवाएको रियलको दाबी, युइएफएमा बुझायो ‘प्रमाण’

काठमाडौँ, १६ असोज । स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले बार्सिलोनाले रेफ्री समितिका पूर्वउपाध्यक्षलाई गरेको भुक्तानीसम्बन्धी "अत्यन्त गम्भीर प्रकृतिको प्रमाण" युरोपेली फुटबलको नियामक निकायलाई बुझाएको जनाएको छ।
सन् २००१ देखि २०१८ को अवधिमा बार्सिलोनाले स्पेनको रेफ्री समितिका तत्कालीन उपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रिरालाई ८४ लाख युरो (७२ लाख पाउन्ड) भुक्तानी गरेको आरोप छ। सोही प्रकरणसँग सम्बन्धित ५० हजारभन्दा बढी पृष्ठ लामो नयाँ फाइल (डोजियर) रियल म्याड्रिडले युइएफएलाई बुझाएको हो।
रियल म्याड्रिडले उक्त डोजियरमा समावेश प्रमाणहरूले "प्रतियोगिताको निष्पक्षता र रेफ्री प्रणालीप्रतिको विश्वासमा प्रत्यक्ष असर पार्ने" दाबी गरेको छ। बिहीबार जारी विज्ञप्तिमा रियलले अनुसन्धान प्रक्रिया सम्भव भएसम्म छिटो पूर्ण निष्कर्षमा पुगोस् भन्ने चाहना व्यक्त गर्दै अधिकारीहरूलाई प्रमाणित तथ्यको गम्भीरता अनुसार आवश्यक निर्णय लिन आग्रह गरेको छ।
युइएफएले प्राप्त फाइललाई "महत्वपूर्ण" भन्दै आफ्ना आचारसंहिता तथा अनुशासन निरीक्षकहरूले जारी समीक्षाका क्रममा यसको मूल्याङ्कन गर्ने बताएको छ।
बार्सिलोनाको खण्डन
सन् २०२३ मा यो विषय सार्वजनिक भएदेखि नै बार्सिलोनाले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएको छ। क्लबले उक्त रकम नेग्रिरा र उनको कम्पनी 'डासनिल ९५' ले खेल अधिकारीहरूबारे उपलब्ध गराएको स्काउटिङ तथा प्राविधिक प्रतिवेदनका लागि भुक्तानी गरिएको स्पष्ट पारेको छ। नेग्रिरालाई दिइएको रकम रेफ्रीहरूलाई घुस दिन प्रयोग गरिएको भन्ने आरोपलाई बार्सिलोनाले कडा शब्दमा अस्वीकार गर्दै आएको छ।
रियल म्याड्रिडको दाबीपछि बिहीबार नै प्रतिक्रिया दिँदै बार्सिलोनाले युइएफएले आफूहरूविरुद्ध कुनै नयाँ कारबाही प्रक्रिया सुरु नगरेको स्पष्ट पारेको छ।
बार्सिलोनाले भनेको छ, "सन् २०२३ मा दुईजना अनुसन्धानकर्ता नियुक्त गरी कारबाही प्रक्रिया सुरु गरिएको थियो र उनीहरूले उपयुक्त ठानेका कदमहरू चालिसकेका छन्। क्लबले सधैँ उनीहरूका सबै अनुरोधहरूको पालना गरेको छ। यी प्रक्रियाहरू पुनः सुरु गरिएका होइनन्, किनभने ती कहिल्यै बन्द नै भएका थिएनन्।"
क्लबले थप भनेको छ, "यी कागजातका सम्बन्धमा कस्तो कारबाही उपयुक्त हुन्छ भन्ने निर्णय गर्ने जिम्मा अनुसन्धानकर्ताहरूको हो। हालसम्म उनीहरूले बार्सिलोनासँग कुनै नयाँ माग गरेका छैनन् र रियल म्याड्रिडको उजुरी पनि क्लबसमक्ष पठाएका छैनन्। यदि उनीहरूले त्यसो गरेमा क्लबले सोही अनुसार जवाफ दिनेछ। प्रचलित कानुन बमोजिम यो फाइल स्पेनमा चलिरहेको फौजदारी कारबाहीको नतिजामा निर्भर रहनेछ।"
अदालत र कानुनी स्थिति
सन् २०२३ को जुनमा युइएफएका अनुसन्धानकर्ताहरूले बार्सिलोनाले कुनै पनि सजाय भोग्नु नपर्ने निर्णय गरेका थिए। त्यसयता टोली युरोपेली प्रतियोगिताहरूमा निरन्तर सहभागी हुँदै आएको छ।
यद्यपि, बार्सिलोनाको एक अदालतले सोही वर्षदेखि यस मुद्दाको सुनुवाइ गरिरहेको छ र उक्त अनुसन्धान अझै जारी छ।
यसैबीच ला लिगाका अध्यक्ष जाभियर तेबासले सन् २०२३ को मार्चमा यो घटना धेरै पुरानो भइसकेकाले प्रतियोगिता आयोजक निकायले कुनै कारबाही गर्न नसक्ने बताएका थिए। उनका अनुसार यो मुद्दा खेल कानुनअनुसार हदम्याद नाघेको भए पनि फौजदारी कानुनअनुसार भने अझै कायम रहेको छ।



