समाचार

धनुषामा नाैजना फरार प्रतिवादी पक्राउ, १४ वर्ष ६ महिना कैद र २ लाख ७६ हजार जरिवाना असुल 

रौतहट १५ असोज । जिल्ला अदालत धनुषाबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा कुटपिट मुद्दाका ३ जना, सवारी ज्यान मुद्दाका १ जना, सवारी अंगभंग मुद्दाका १ जना, लागूऔषध मुद्दाका १ जना, चोरी मुद्दाका १ जना तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका २ जना रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका ९ जनामाथि अदालतबाट कुल १४ वर्ष ६ महिना १८ दिन कैद तथा २ लाख ७६ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले बिहीबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई अदालतको फैसला कार्यान्वयन तथा कैद र जरिवाना असुलीका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button