मधेशका सीमा नाकामा आईजीपी पौडेल- सीमा अपराधमा कुनै सम्झौता नगर्नू’

रौतहट १५ असोज । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायणदत्त पौडेलले मधेश प्रदेशका सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउन मातहतका सुरक्षाकर्मीलाई कडा निर्देशन दिएका छन्।
मधेश प्रदेशका विभिन्न सीमा नाका तथा सुरक्षा युनिटको अनुगमनका क्रममा उनले सीमा अपराध, तस्करी तथा राजस्व चुहावट नियन्त्रणमा उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका हुन्।
बिहीबार नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीसहित मातहतका गण, गुल्म, बोर्डर आउटपोस्ट (बीओपी) तथा सुरक्षा बेसको निरीक्षण गर्दै महानिरीक्षक पौडेलले सीमा सुरक्षामा खटिएका कमाण्डर र कर्मचारीसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।
मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी विष्णु भट्टका अनुसार अनुगमनका क्रममा उनले सीमा क्षेत्रमा भइरहेका गतिविधि, अवैध आवतजावत तथा सम्भावित अपराध नियन्त्रणका लागि पूर्वयोजना बनाएर काम गर्न निर्देशन दिए। सीमा अपराध र राजस्व चुहावट नियन्त्रणलाई परिणाममुखी बनाउन नियमित निगरानी, सूचना संकलन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
पौडेलले सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दा स्थानीय बासिन्दासँगको सम्बन्धलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिए। सीमावर्ती नागरिकसँग सुमधुर सम्बन्ध कायम गर्दै उनीहरूलाई सुरक्षा प्रणालीसँग जोड्न तथा सीमा वारपार गर्ने सर्वसाधारणलाई अनावश्यक असहजता नहुने गरी जिम्मेवारी निर्वाह गर्न उनले आग्रह गरे। उनले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ लाई थप प्रभावकारी बनाउनसमेत निर्देशन दिएका छन्।
विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन निर्देशन
मनसुन तथा वर्षायामलाई मध्यनजर गर्दै महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनतर्फ पनि उच्च तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
बाढी, डुबानलगायतका विपद्जन्य घटना भए तत्काल परिचालन हुनसक्ने गरी तालिम प्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्न उनले निर्देशन दिएका हुन्।
यसका साथै विपद्का बेला स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
जटही नाकाको निरीक्षण
महानिरीक्षक पौडेलले धनुषाको सीमा क्षेत्रमा पर्ने जटही नाकाको समेत स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले त्यहाँको सीमा सुरक्षा अवस्था, शान्ति सुरक्षा तथा सीमावर्ती क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिए। उनले स्थानीय बासिन्दासँग भेटघाट गरी सीमा क्षेत्रमा उनीहरूले भोगिरहेका समस्या र सुरक्षा अवस्थाका विषयमा समेत जानकारी लिएका थिए।
डीआईजी भट्टका अनुसार महानिरीक्षक पौडेलको अनुगमन मुख्यतः सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण, राजस्व चुहावट रोकथाम र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको तयारीको अवस्थाबारे केन्द्रित थियो। यस क्रममा महानिरीक्षक पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग पनि भेटघाट गरेका छन्। भेटमा समसामयिक विषय तथा प्रदेशको सुरक्षा अवस्थाबारे छलफल भएको जनाइएको छ।



