समाचार

सुशासन कायम गर्न नसके सरकारले जनविश्वास गुमाउँछ : सामाजिक अभियन्ता तबरेज आलम

काठमाडौं, १५ असोज । सामाजिक अभियन्ता तबरेज आलमले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र प्रशासनिक ढिलासुस्तीको अन्त्यका लागि अहिलेको पहिलो र अनिवार्य आवश्यकता सुशासन नै भएको बताएका छन्।

काठमाडौंको दरबारमार्गमा आयोजित सामाजिक तथा युवा संवाद कार्यक्रममा बोल्दै अभियन्ता आलमले वर्तमान सरकारप्रति आम जनताको ठूलो भरोसा र अपेक्षा रहे पनि सरकारले सोहीअनुरूप ठोस परिणाम दिन नसकेकोमा चिन्ता व्यक्त गरे।

विगत लामो समयदेखि सामाजिक समानता, युवा अधिकार र प्रशासनिक सुधारको पक्षमा वकालत गर्दै आएका आलमले राज्यका हरेक निकायमा पारदर्शिता र जवाफदेहिता अपरिहार्य रहेकोमा जोड दिए। 'जनताले व्यवस्था परिवर्तनसँगै आफ्नो जीवनस्तर र सेवा प्रवाहमा प्रत्यक्ष परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ,' उनले भने, 'तर, वर्तमान सरकारले जनताको त्यो तीव्र अपेक्षालाई सम्बोधन गर्न ढिलाइ गरिरहेको छ।'

सम्बोधनका क्रममा उनले जेनजी पुस्ताले उठाएका रचनात्मक मुद्दा र आन्दोलनको भावनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। युवा पुस्ताको असन्तोष र उनीहरूले खोजेको परिवर्तनलाई बेवास्ता गरिए मुलुक थप सङ्कटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै उनले सरकारलाई ‘जेनजी’ आन्दोलनको मर्म र भावनाअनुसार तत्काल सुधारका कदम चाल्न सुझाव दिए।

सार्वजनिक जीवनमा निरन्तर जनरोकारका विषय उठाउँदै आएका आलमले निष्पक्ष न्याय, भ्रष्टाचार नियन्त्रण र समावेशी विकास बिना दिगो शान्ति सम्भव नहुने भन्दै राज्यले नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्न ढिलाइ गर्न नहुने धारणा राखेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button