समाचार

११ बैंकिङ कसुरमा ६६ लाख ८२ हजार जरिवाना, फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरसहित ११ वटा मुद्दामा अदालतबाट कैद तथा ६६ लाख ८२ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका रौतहटका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–७ भिमहावर निवासी ठेकदार दयाराम प्रसाद साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार देवेन्द्रकुमार कर्णसहित ११ जनाले छुट्टाछुट्टै दिएको जाहेरीका आधारमा साहविरुद्ध बैंकिङ कसुरलगायत ११ वटा मुद्दा दर्ता भएका थिए।

ती मुद्दामा रौतहट जिल्ला अदालतले साहलाई ३ महिना १५ दिन कैद र ६६ लाख ८२ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला कार्यान्वयन हुनुअघि नै फरार रहेका साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले साहलाई गरुडा–७ भिमहावरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउपछि साहलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार कैद सजाय भुक्तान तथा जरिवाना असुलउपरका लागि उनलाई कारागार कार्यालय रौतहट, गौर पठाइएको डीएसपी गौतमले जानकारी दिएका छन्। निर्माण व्यावसायी साह लामो समय देखि लुकिछिपी बस्दै आएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button