प्रहरीमा वार्षिक कार्यसम्पादन करार, डिआईजी अधिकारीले लिए कार्यालय प्रमुखसँग प्रतिबद्धता

रौतहट, ११ असोज । मधेश प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक कार्यसम्पादन करार हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारी र मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखबीच आइतबार कार्यसम्पादन करारमा हस्ताक्षर भएको हो।
कार्यक्रममा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर (हाल राजविराज) का समादेशक तथा धनुषा, महोत्तरी, बारा र पर्साका जिल्ला प्रहरी प्रमुख भौतिक रूपमा सहभागी भएका थिए। सप्तरी, सिरहा, सर्लाही र रौतहटका जिल्ला प्रहरी प्रमुख तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
कार्यसम्पादन करारले प्रहरी कार्यालय र प्रमुखहरूलाई वार्षिक लक्ष्य, जिम्मेवारी र कार्यसम्पादनप्रति थप जवाफदेही बनाउने अपेक्षा गरिएको छ। विशेषगरी अपराध नियन्त्रण, अनुसन्धान, शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवामा कार्यालयगत लक्ष्य निर्धारण गरी त्यसको प्रगति मूल्यांकन गर्ने आधारका रूपमा यसलाई लिइन्छ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकाल, प्रहरी उपरीक्षक इन्जिनियर ईश्वर थापालगायत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो।



