समाचार

सूचीकृत दलित समुदायको थरहरुमा त्रुटिप्रति आपति

जनकपुरधाम, ११ असोज । नेपाल सरकारले पहाडि तथा मधेशी दलित समुदायको आधिकारिक परिभाषा तय गर्दै उनीहरूले प्रयोग गर्ने थरहरूको विस्तृत नयाँ सूचीकरण राजपत्रमा प्रकाशित गरेको छ । 

राजपत्रमा दलित समुदायलाई मुख्यतया पहाडी दलित र मधेशी दलित गरी दुई भागमा वर्गीकरण गरी उनीहरूले प्रयोग गर्ने थर तथा उपथरहरूको विस्तृत सूची समावेश गरिएको छ । तर, दलित नै भएकाहरको थर पनि सूचीकरण समावेश गरिएका जस्ता त्रुटि देखिएको छ ।

राष्ट्रिय दलित आयोगको सिफारिस बमोजिम मन्त्रिपरिषद्को बैठकले दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण स्वीकृत गरेको थियो । त्यसलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो ।

प्रकाशन गरिएको सो सूचीमा मधेशी थरमा रहेका केही थरहरु पहाडि दलितर्फ पनि राखिएका छन् भने दलित जाति नै भएका जातिहरुको पनि थर सूचीकरण गरिएकोप्रति आपति जनाइएको छ । 

नागवंशी थर तराई मधेशमा पनबरिया जातिको हो । तर, सूचीकरणमा मधेशी दलितर्फ चमार समुदायतर्फ राखिएको छ । यसअघि २०८१ म सार्वजनिक गरिएको सूचीकरणमा पनि राखिएको थियो । 

पहाडी दलितले गैर दलित समुदायको थर प्रयोग गर्ने दलित समुदायको थरहरूमा मधेशमा गैर दलितले प्रयोग गर्दै आएका ठाकुर, चौधरी, पाण्डे, सिंह, मल्लिक, महतो, यादव, राउत, सहनी, सिंह, साह, साहु लगायतका सूचीकृत गरिएको छ । 

गैर दलिततर्फका थरहरु ठाकुर तराई मधेशमा ब्राहमण, लोहार, हजाम, भूमिहारले प्रयोग  गर्दै आएका थरहरु हुन । यस्तै चौधरी पनि ब्राहमण, कलवार, कायस्थ, भूमिहारले प्रयोग गर्ने थर हुन भने पाण्डे थर भूमिहार र ब्राहमणले प्रयोग गर्ने थर हो । 

सिंह मधेशमा राजपूत र कोइरी जातिले प्रयोग गर्छन भने मल्लिक थर कायस्थ र डोम जातिले प्रयोग गर्छन् । यादव थर मधेशका गुवार जातिले मात्र प्रयोग गर्छन भने राउत मधेशमा कुर्मी, सहनी थर मल्लाह जाति, साह र साहु थर मधेशका सुडी, तेली, कलवार जातिले प्रयोग गर्ने थर हुन् । 

यस्तै मधेशी दलित समुदायतर्फका चौधरी, नुनिया, महतो, यादव, राउत, राजपूत राय, शर्मा र सिंह गैरदलितका प्रयोग गरिने थर दलित समुदायले प्रयोगमा राखिएको छ । नुनिया, धानुक आदिवासी जनजातितर्फ सूचीकृत गरिएको हो । राजपूत छुट्टै जाति हुन र उनको थर सिंह हो, शर्मा थर ब्राम्हण, भूमिहार, हजाम र लोहार जातिले प्रयोग गर्ने थर हुन् । 

नागवंशी थरलाई मधेशी दलिततर्फ चमार जातिमा राखिएकोप्रति पत्रकार एवं नागवंशी समाज नेपालका संस्थापक महासचिव उपेन्द्रभगत नागवंशीले आपति जनाएका छन् । उनले आफूहरू नेपालकै प्रथम आदिवासी जाति सूचीमा रहेको बताए । तर, आफूहरूलाई मधेशी दलिततर्फको चमार जातिमा सूचीकरण गर्नु गलत भएको धारणा राखे । यसलाई अविलम्ब राष्ट्रिय दलित आयोग र मन्त्रालयले सच्याउनुपर्ने उनको माग छ । 

उनले आफ्नो जातिको इतिहास बारे थप्दै प्राचीनकालमा नेपाल उपत्यका जलमग्न अवस्थामा रहँदा जलाशयको वरिपरि बसोवास गर्ने समुदाय नागवंशी समुदाय नै रहेको बताए । पछि जल निकासी हुँदा समाज व्यवस्थाको व्यवस्थापन गर्दै आएका नागवंशीहरूलाई नै मुनिले भनेपछि गोपालवंशलाई शासन व्यवस्थापन हस्तान्तरण गरेको उनको भनाइ छ । 

यस्तै इन्सेक मधेश प्रदेशका प्रमुख एवं दलितका अगुवा नेता राजु पासवान समेतले तराई मधेशमा गैर दलितले प्रयोग गर्ने थरहरु समेत पहाडी र मधेशी दलिततर्फको सूचीकरणमा राखिनु आपतिजनक रहेको बताउँदै  अविलम्ब सच्याउनुपर्ने बताए ।

उनले गैर दलितलाई पनि दलित समुदायमा सूचीकरण गरिँदा तिनीहरुले दलितको आरक्षण कोटा लिएर वास्तविक दलितलाई अवसरबाट वञ्चित गर्ने सम्भावना बढेको तर्फ चिन्ता व्यक्त गरे।

उता सूचीकरणमा देखिएको त्रुटिबारे राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सूचीकरणमा कुनै त्रुटि नरहेको दाबी गरेका छन् । उनले भने तराई मधेशमा गैर दलितले बोल्ने थरहरु राखिनुको प्रमुख कारण गैर दलितले दलित जातिसँग अन्तरजातिय विवाह गरेको अवस्थामा तिनीहरु आरक्षणबाट वञ्चित हुन नपाओस भन्ने उद्देश्यले राखिएको हो । 

गैर दलितले पनि यस्तो अवस्थामा दलितको नामबाट फाइदा लिन सक्ने सम्भावनाबारे उनले फाइदा लिन सक्ने सम्भावना रहे पनि आफूहरूले मन्त्रालयलाई यस सम्बन्धमा पत्राचार गरिसकेको जानकारी दिए ।

पहाडी दलित समुदायका पहाडी दलित अन्तर्गत विभिन्न ७ वटा प्रमुख समुदाय र गैरदलितसँग मिल्ने थरहरू समेत गरी सूचीकृत छन् । विश्वकर्माका ३४८, परियार समुदायतर्फ २९३, मिजार समुदायतर्फ २२९, वादी समुदायतर्फ ३८, गन्धर्व समुदायतर्फ १६ थरहरू, च्यामे समुदायमा ४, पोडे समुदायमा ५ र पहाडी दलितले बोल्ने गैर दलितका थर २१४ गरी १ हजार ४७ थर सूचीकृत गरिएको छ । 

यस्तै मधेशी दलितर्फ मधेशी दलित समुदायतर्फ मधेशी दलित अन्तर्गत २१ वटा विभिन्न जातिरसमुदाय र तिनले प्रयोग गर्ने २५८ थरहरू समेटिएको छ । प्रमुख समुदायहरू चमार, मुसहर, दुसाध (पासवान), तत्मा, खत्वे, धोबी, बाँतर, कोरी, डोम, खटिक, नटुवा, ढाँढी, चिडिमार, ककैहिया, कलर, धन्कार, पासी, मेस्तर, सरभङ्ग, उराँव जातिलाई समेटेको छ । 
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button