कांग्रेसको भूगोल अब संसारभर छ : प्रवासको योगदानलाई अधिकार र प्रतिनिधित्वसँग जोड्नुपर्छ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन केवल नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र नभई पार्टीको आगामी दिशा, संगठनात्मक संरचना र बदलिँदो नेपाली समाजसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्नेमा नेपाली जनसम्पर्क समिति मलेसियाका महामन्त्री सरोज दाहालले जोड दिएका छन्।
दाहालले कांग्रेसका लाखौँ शुभेच्छुक, सदस्य तथा समर्थक देशको सीमाभन्दा बाहिर रहे पनि विचार, योगदान र लोकतन्त्रप्रतिको प्रतिबद्धताका हिसाबले पार्टीसँग निरन्तर जोडिएको उल्लेख गर्दै प्रवासलाई सहयोग जुटाउने क्षेत्रका रूपमा मात्र नभई पार्टी निर्माणको अभिन्न हिस्साका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको विधानमा नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्वलाई थप संस्थागत गर्दै एक महिलासहित छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था अघि सारिनु बदलिँदो यथार्थलाई सम्बोधन गर्ने महत्वपूर्ण पहल भएको उनको भनाइ छ। उनका अनुसार यो केवल केन्द्रीय सदस्यको संख्या थप्ने विषय नभई विदेशमा रहेर कांग्रेसको विचार, संगठन र लोकतान्त्रिक अभियानमा योगदान गरिरहेका नेपालीहरूको भूमिकालाई पार्टीको मूल संरचनाले संस्थागत रूपमा स्वीकार गर्ने विषय हो।
यस पहलका लागि दाहालले पार्टी सभापति गगनकुमार थापा, विधान मस्यौदा समिति संयोजक एवं महामन्त्री प्रदीप पौडेल तथा समिति सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुसुमदेवी थापा मगर, अञ्जु झा र सदस्य–सचिव प्रताप पौडेलप्रति आभार व्यक्त गरेका छन्। विधान मस्यौदा समितिले नेपाली जनसम्पर्क समितिलाई समेटेर प्रवासमा रहेका कांग्रेस समर्थक तथा सदस्यहरूको प्रतिनिधित्वलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको उनले बताएका छन्।
तर प्रतिनिधित्वको व्यवस्था कागजमा मात्र सीमित नरही त्यसको अर्थपूर्ण कार्यान्वयन आवश्यक रहेको दाहालको धारणा छ। जनसम्पर्क समितिलाई अधिकार, जिम्मेवारी, संगठनात्मक स्पष्टता र निर्णय प्रक्रियामा प्रभावकारी सहभागितासहित अघि बढाउनुपर्ने उनले बताएका छन्।
विदेशमा रहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई ‘विदेश’ भनेर छुट्टै राख्ने नभई कांग्रेसको मूल संगठनकै हिस्साका रूपमा हेर्नुपर्ने उनको जोड छ। वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको संगठनात्मक प्रक्रियासँगै विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई पनि कांग्रेसको संगठनात्मक जीवनसँग अझ मजबुत रूपमा जोड्नुपर्ने उनले बताएका छन्।
पार्टीको आफ्नै कार्यतालिकाले बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशन सम्पन्न गर्ने समयसीमासमेत तोकेको उल्लेख गर्दै दाहालले प्रवासका संगठनलाई पनि पार्टीको नियमित संगठनात्मक प्रक्रियामा प्रभावकारी रूपमा सहभागी गराउनुपर्ने आवश्यकता औँल्याएका छन्।
उनका अनुसार नेपाली कांग्रेसको संगठनात्मक भूगोल नेपालभित्र मात्र सीमित छैन। विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायमा कांग्रेसप्रतिको विचार, लोकतन्त्रप्रतिको विश्वास र संगठनप्रतिको प्रतिबद्धता जीवित रहेको भन्दै उनले प्रवासलाई पार्टीको संगठनात्मक शक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्।
१५औँ महाधिवेशन गुटगत शक्ति प्रदर्शनमा सीमित नभई विचारको पुनर्निर्माण, संगठनको आधुनिकीकरण र सहभागिताको विस्तार गर्ने महाधिवेशन बन्नुपर्ने दाहालको धारणा छ।
“प्रवासको योगदानलाई सम्मान गर्दै प्रतिनिधित्वलाई अधिकारमा बदल्नुपर्छ, अधिकारलाई जिम्मेवारीसँग जोड्नुपर्छ र संसारभर छरिएका नेपालीलाई जोड्ने नयाँ, समावेशी तथा गतिशील कांग्रेस निर्माण गर्नुपर्छ,” दाहालले भनेका छन्।
उनले १५औँ महाधिवेशनलाई कांग्रेसको संगठनलाई समयानुकूल बनाउने र प्रवासमा रहेका नेपालीलाई पार्टीको मूलधारसँग अझ मजबुत रूपमा जोड्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
सरोज दाहाल
महामन्त्री
नेपाली जनसम्पर्क समिति, मलेसिया



