समाचार

प्रेस युनियन झापाको अधिवेशनमा तीन पत्रकार सम्मानित हुँदै

झापा । नेपाल प्रेस युनियन झापाको आसन्न जिल्ला अधिवेशनमा तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ।

युनियनले यस वर्षदेखि प्रदान गर्न सुरु गरेको खगेन्द्र पौडेल स्मृति पुरस्कार झापामा क्रियाशील पत्रकार आत्मराम राजवंशीलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै, यसअघि प्रदान गरिँदै आएको खगेन्द्र कार्की स्मृति अग्रज पत्रकारिता पुरस्कार पत्रकार लीला अनमोललाई र खगेन्द्र कार्की क्रियाशील पत्रकारिता पुरस्कार युवा पत्रकार सन्तोष विष्टलाई प्रदान गरिने भएको छ।

पुरस्कृत हुने पत्रकारहरूको नाम छनोट समितिले सिफारिस गरेपछि आज बसेको युनियनको जिल्ला समिति बैठकले त्यसलाई अन्तिम रूप दिएको हो।

युनियनका जिल्ला अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा बिर्तामोडमा बसेको बैठकले आगामी भदौ १३ गते शनिबार दमकमा हुने जिल्ला अधिवेशनको तयारीसमेत टुंग्याएको छ। अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधीर शिवाकोटी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।

नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनको निर्वाचन कार्यक्रम सम्पन्न गर्न लक्ष्मी लुइटेलको संयोजकत्वमा विष्णु सुब्बा र बेगम श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन गरी जिम्मेवारी दिइएको छ।

अधिवेशनमा झापा जिल्लामा क्रियाशील नेपाल प्रेस युनियन आबद्ध १३४ जना पत्रकार सहभागी हुने युनियनले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button