नेपाल बाढिपीडितका लागि गायत्री परिवारका लागि राहात पहल

सञ्जय मिश्रा
रौतहट, ११ भदौ ।
नेपालमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि भारतको हरिद्वारस्थित अखिल विश्व गायत्री परिवारले राहत तथा सेवा अभियान अघि बढाएको छ।
बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्।
कतिपयले आफन्त गुमाएका छन् भने कतिपय परिवार घरबारविहीन बनेका छन्। यस्तो विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले गायत्री परिवारले शान्तिकुञ्ज, हरिद्वारबाट राहत सामग्री नेपाल पठाउने तयारी गरेको हो।
गायत्री परिवार प्रमुख श्रद्धेया शैल जीजी र उपाध्यक्ष डा. चिन्मय पण्ड्या जीको मार्गदर्शनमा शान्तिकुञ्जमा रहेका करिब ५० जना नेपाली कार्यकर्ता तथा स्थानीय गायत्री परिवारका सदस्यहरू सम्मिलित सेवाभावी टोली प्रभावित क्षेत्रमा जाने भएको छ।
टोलीले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई त्रिपाल, खाद्यान्न, आवश्यक औषधि तथा दैनिक उपभोग्य सामग्री वितरण गर्ने जनाएको छ।
गायत्री परिवारका अनुसार राहत अभियान केवल सामग्री वितरणमा सीमित नरही विपद्मा परेका नेपाली परिवारलाई आत्मीयता र अपनत्वको अनुभूति गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो। घर गुमाएका परिवारका लागि त्रिपाल अस्थायी छानामात्र नभई सुरक्षा र भरोसाको आधार बन्ने तथा खाद्यान्न र औषधिले संकटको समयमा ठूलो राहत दिने अपेक्षा गरिएको छ।
गायत्री परिवारले आफ्नो सेवा अभियानलाई परमपूज्य गुरुदेव पण्डित श्रीराम शर्मा आचार्य र वन्दनीया माताजी भगवतीदेवी शर्माको सेवा, करुणा र लोकमंगलको शिक्षासँग जोडेको छ। मानव सेवामै अध्यात्मको सार्थकता रहेको सन्देशलाई व्यवहारमा उतार्दै विपद्का बेला पीडितको साथमा उभिनु आफ्नो जिम्मेवारी भएको परिवारको भनाइ छ।
भारत र नेपालबीच लामो समयदेखि रहेको सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक सम्बन्धलाई समेत ध्यानमा राख्दै नेपाली नागरिकको दुःखमा साथ दिन राहत अभियान अघि बढाइएको गायत्री परिवारले जनाएको छ।
श्रद्धेया शैल जीजी र डा. चिन्मय पण्ड्या जीले बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनीहरूले प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने अभियान सफल बनाउन सबैलाई सेवाभावका साथ अघि बढ्न आह्वान गरेका छन्।
शान्तिकुञ्जबाट नेपालतर्फ अघि बढ्ने यो अभियान राहत सामग्री हस्तान्तरणमा मात्र सीमित नभई विपद्को समयमा मानवीय संवेदना, सहकार्य र भारत–नेपालको आत्मीय सम्बन्धको सन्देश दिने प्रयासका रूपमा हेरिएको छ।



