मधेस प्रदेशसमाचारसमाजस्थानीय

रौतहटका त्रिलोकी यादव विश्व बेल्ट कुस्ती च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै

राजकुमार यादव ( रौतहट )

रौतहटका कुस्ती खेलाडी त्रिलोकी प्रसाद यादवले किर्गिस्तानमा आयोजना हुने विश्वस्तरीय कुस्ती प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। अगस्ट ३१ देखि सेप्टेम्बर ६ तारिखसम्म आयोजना हुने ‘द वर्ल्ड नोमेड गेम्स’ अन्तर्गत UWW विश्व बेल्ट कुस्ती एलिट च्याम्पियनसिप तथा कुस्ती पहलवानी च्याम्पियनसिपमा यादवले पुरुष १०० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

रौतहट जिल्लाका यादवका लागि अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगिता आफ्नो खेल क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको छ। नेपालको प्रतिनिधित्व गर्दै विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न लागेका यादवले आफ्नो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम अन्तर्राष्ट्रिय खेल मञ्चमा चिनाउने लक्ष्य राखेका छन्।

प्रतियोगितामा सहभागी हुने नेपाली कुस्ती टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी र नेपाल कुस्ती संघले संयुक्त रूपमा बिदाइ गरेका छन्। राखेपका सदस्य-सचिव रामचरित्र मेहताले आयोजित कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गर्दै प्रतियोगिताका लागि शुभकामना दिएका छन्।

नेपाली टोलीमा यादवसँगै प्रशिक्षकका रूपमा मुम्ताज अली इद्रिसी सहभागी हुनेछन्। बिदाइ कार्यक्रममा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्रबहादुर बस्नेतलगायत पदाधिकारी तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

कुस्ती खेलमा रौतहटको प्रतिनिधित्व गर्दै आएका यादवले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोकेर प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नुलाई जिल्लाको खेलकुद क्षेत्रका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनको सहभागिताले रौतहटमा कुस्ती खेलको विकास तथा नयाँ पुस्तालाई यस खेलतर्फ आकर्षित गर्न सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

१०० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्ने यादवमाथि नेपाली खेलप्रेमीको विशेष नजर रहनेछ। विश्वस्तरीय खेलाडीहरूसँगको प्रतिस्पर्धाबाट अनुभव हासिल गर्दै उत्कृष्ट नतिजा निकाल्ने उनको प्रयास नेपाली कुस्तीका लागि समेत महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button