राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

हैदारावाद, १० भदौं । नमित मल्होत्राको ‘रामायण’ र एसएस राजामौलीको ‘वाराणसी’ देशका आगामी सबैभन्दा ठूला चलचित्रहरूमध्ये दुई हुन्। दुवै चलचित्रका निर्माताहरूले तिनलाई विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने योजना बनाएका छन्।
‘मिड डे’ को एक रिपोर्ट अनुसार राजामौलीले ‘वाराणसी’ लाई विश्वभरका १२० देशहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन्। हालसम्म, शाहरुख खान अभिनित ‘पठान’ ले १०० भन्दा बढी देशहरूमा प्रदर्शन भई भारतीय चलचित्रको सबैभन्दा ठूलो रिलिजको कीर्तिमान कायम गरेको छ।
यद्यपि, राजामौली आफ्नो चलचित्रलाई अझ व्यापक रूपमा प्रदर्शन गर्ने योजना मात्र बनाइरहेका छैनन्, बरु यसलाई स्थानीयकरण पनि गर्दैछन्, यसको अर्थ ‘वाराणसी’लाई ती सबै देशका स्थानीय भाषाहरूमा डब गरिनेछ।
समाचार अनुसार राजामौलीले ‘वाराणसी’लाई ५० वटा भाषामा रिलिज गर्ने योजना बनाइरहेका छन्। एआई वा कृत्रिम आवाजको प्रयोग गर्नुको सट्टा उनले वास्तविक ‘भ्वाइस ओभर’ कलाकारहरूबाटै चलचित्रको डबिङ गराउने योजना बनाएका छन्। राजामौली प्रत्येक पात्रको आवाज वास्तविक र स्वाभाविक होस् भन्ने चाहन्छन्, ताकि उनीहरूको भावना, व्यक्तित्व र मनसाय विभिन्न भाषाका दर्शकहरूसम्म प्रभावकारी रूपमा पुग्न सकोस्।
यसैबीच, रणवीर कपुर अभिनित ‘रामायण’ विभिन्न देशहरूमा ४५ भाषाहरूमा प्रदर्शन गरिनेछ। सुरुमा, चलचित्रको डबिङका लागि निर्माताहरूले एआईको प्रयोग गरेको अनुमान गरिएको थियो। तर, निर्माता नमित मल्होत्राले ‘ईटी नाउ’सँगको अन्तर्वार्तामा व्यक्तिगत रूपमा यो दाबीको खण्डन गरेका थिए । उनले स्पष्ट पारेका छन कि उनीहरूले हरेक भाषामा डबिङका लागि वास्तविक भ्वाइस ओभर कलाकारहरूलाई समावेश गरिएका थिए जबकी रणवीर कपुरले आफ्ना संवादहरू आफैं डब गरेका थिए।
नमितले यो पनि उल्लेख गरे कि सबै भाषामा कलाकारहरूको आवाज पूर्ण रूपमा मेल खाओस् भन्ने सुनिश्चित गर्न उनीहरूले ‘ब्रह्मा एआई’को लिप सिंक प्रविधि प्रयोग गरेका थिए।


