सडक विस्तारसँगै वीरगञ्जमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने काम तीव्र

वीरगञ्ज — सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिका क्षेत्रमा देखिएका खाल्डाखुल्डी पुर्ने तथा अव्यवस्थित बिजुलीका तार व्यवस्थापन गर्ने काम तीव्र पारिएको छ।

महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशन तथा सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीको प्रत्यक्ष नेतृत्वमा नगरभित्र बिग्रिएका सडक मर्मत तथा अव्यवस्थित तार हटाउने अभियान सञ्चालन गरिएको हो।

विशेषगरी मुख्य बजार क्षेत्रमा सडक विस्तारका क्रममा डोजरको निरन्तर प्रयोग हुँदा सडकमा खाल्डाखुल्डी पर्नुका साथै चुँडिएका तथा अव्यवस्थित तारका कारण सर्वसाधारण र सवारीचालकले सास्ती भोग्दै आएका थिए। नागरिकको असुविधालाई ध्यानमा राख्दै महानगरपालिकाले तत्काल समाधानका लागि अभियान अघि बढाएको जनाएको छ।

सरसफाइ शाखा प्रमुख अन्सारीका अनुसार सडकमा रहेका जोखिमपूर्ण खाल्डाखुल्डी पुर्ने तथा बिजुलीका पोलमा टाँगिएका काम नलाग्ने, चुँडिएका र अलपत्र तार हटाउने काम भइरहेको छ। वीरगञ्जलाई व्यवस्थित, सुरक्षित र सुन्दर सहर बनाउने उद्देश्यले अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

महानगरपालिकाको सक्रियतासँगै मुख्य बजार क्षेत्रको यातायात आवागमन सहज हुनुका साथै सडक दुर्घटनाको जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *