Modern technology gives us many things.

घरदैलो अभियानमा प्रमोद गुप्ता “हरेक घरको समस्या सुन्छु, क्षेत्र–३ लाई विकासको बाटोमा लैजान्छु”

10
कलैया , २९ माघ
बारा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार प्रमोद गुप्ता जनताको घर–घर पुग्दै समस्या सुन्ने र समाधानको प्रतिबद्धता जनाउने अभियानमा सक्रिय देखिएका छन्। यही क्रममा बिहीबार उनले कलैया उपमहानगरपालिका वडा नं. २४ अन्तर्गत श्रिपुर र बेलवाडिह टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो क्रममा गुप्ताले स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिकीसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू सुने। खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सिँचाइ जस्ता विषयमा स्थानीयले राखेका गुनासालाई ध्यानपूर्वक सुन्दै उनले ती समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयसँगको संवादमा गुप्ताले भने, “राजनीति भाषणमा सीमित हुनु हुँदैन। जनताका पीडा बुझेर समाधान गर्नु नै मेरो प्राथमिकता हो। क्षेत्र–३ का हरेक आवाज संसदसम्म पुर्‍याउने मेरो लक्ष्य छ।”
चुनाबी अभियानका क्रममा गुप्ताले क्षेत्र–३ को समग्र विकास आफ्नो मुख्य एजेन्डा भएको बताए। उनले सडक पूर्वाधार विस्तार, कृषि उत्पादनको बजारीकरण, युवालाई रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारमा विशेष ध्यान दिने बताए।
स्थानीय बासिन्दाले पनि उम्मेदवार स्वयं घरदैलोमा आएकोमा खुसी व्यक्त गर्दै आफ्ना समस्या प्रत्यक्ष राख्न पाएको प्रतिक्रिया दिए। एक स्थानीयले भने,
“नेताहरू चुनावमा मात्र देखिन्छन् भन्ने गुनासो थियो। तर गुप्ता घरदैलोमै आएर कुरा सुन्नु सकारात्मक संकेत हो।”
श्रिपुर र बेलवाडिह टोलमा भएको घरदैलो कार्यक्रममा स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयका अनुसार गुप्ताको सरल व्यवहार र जनमुखी एजेन्डाले मतदाताको ध्यान आकर्षित गरिरहेको छ।
घरदैलो अभियानलाई निरन्तरता दिने बताउँदै गुप्ताले आगामी दिनमा पनि क्षेत्र–३ का विभिन्न वडामा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने जानकारी दिए।
उनले भने, “जनताको साथ, सुझाव र विश्वासकै आधारमा क्षेत्र–३ लाई समृद्ध र विकसित बनाउने मेरो अठोट छ।”
यससँगै बारा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी माहोल थप तातेको देखिएको छ।
Leave a comment