काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा बल प्रयोगका लागि आदेश भएको आरोपको खण्डन गरेका छन् । भदौ २३ गतेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि पदबाट राजीनामा दिएका लेखकले एक महिनापछि यस विषयमा टिप्पणी गरेका हुन् ।
शुक्रबार सानेपामा लेखकले भने, “बल प्रयोग गर्ने विषयमा गृहमन्त्री र प्रधानमन्त्रीले निर्देशन गरेको भन्ने सवाल उठेका छन् । त्यो आदेश गर्ने भन्ने विषय पनि होइन । आदेश गरिएको छैन । सो घटनाहरू दुःखद भए । धेरै मानिसहरूले ज्यान गुमाए, मलाई गहिरो पीडा भयो ।”
उनले बल प्रयोगको आदेश नभएको र जेनजीका मागप्रति सरकार नकारात्मक पनि नभएको दाबी गरे । उनले जेनजी आन्दोलनका माग सकारात्मक भए पनि प्रदर्शनमा घुसपैठ हुँदा अराजकता निम्तिएको जिकिर गरे ।
लेखकले जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गर्नुपर्ने खालका रहेको पनि बताए । उनीहरूका माग समेट्न कांग्रेस र प्रमुख राजनीतिक दलहरूबीच साझा समझदारी आवश्यक रहेको उनको भनाइ छ ।
