नेपाल र भारतबीच सरकारी स्तरमा सम्बन्ध सुधारमा जोड
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले नेपाल–भारत व्यापारमा नीतिगत सुधारको खाँचो रहेको औंल्याए।
पर्सा — नेपाल र भारतका जनताबीच जनस्तरमा सम्बन्ध राम्रो रहे पनि सरकारी स्तरमा सम्बन्ध राम्रो हुन नसक्दा द्विदेशीय व्यापारले आशातीत सफलता पाउन नसकेको सरोकारवालाहरूले बताएका छन्। नेपाल भारत उद्योग वाणिज्य संघ वीरगन्ज शाखाले बुधबार वीरगन्जमा आयोजना गरेको भारत–नेपाल आर्थिक साझेदारी सम्मेलनमा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले नेपाल–भारत व्यापारमा नीतिगत सुधारको खाँचो रहेको औंल्याए। उनले यो समस्याले नेपाली उद्योगी व्यवसायीले लामो समयदेखि समस्या भोग्दै आएको बताए। उनले नेपालबाट मालवस्तु भारत निर्यात गर्दा र भारतबाट मालवस्तु नेपाल आयात गर्दा समेत भारतीय पक्षबाट विभिन्न खाले बाधा–अवरोध भइरहनु दुःखद भएको बताए। उनले जनता–जनताबीच सम्बन्ध राम्रो भए पनि दुई देशबीचको सम्बन्ध राम्रो हुन नसक्दा द्विदेशीय व्यापारले आशातीत सफलता पाउन नसकेको बताए।
आयोजक संघका सचिव अभिषेक चौधरीले नेपाल र भारत दुवैलाई लाभ हुने सार्वजनिक साझेदारी निर्माणमा जोड दिए। उनले वीरगन्जलाई प्रवेशद्वार मात्र नभई साझा समृद्धिको पूर्वाधार पनि बनाउनुपर्ने बताए।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतमले भारत र नेपालले जलविद्युत्, कृषि, पर्यटन आदि क्षेत्रमा थुप्रै साझेदारीमूलक काम गर्न सक्ने सम्भावना रहेको औंल्याए। उनले अयोध्यामा पुग्ने कूल धार्मिक पर्यटकमध्ये २ प्रतिशतलाई मात्र पनि जनकपुर ल्याउन सके नेपालको पर्यटनले ठूलो फड्को मार्ने बताए। दुवै देशले प्राविधिक शिक्षामा पनि सहकार्य गर्न सक्ने उनले सुझाव दिए।
प्रमुख अतिथि मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले अवैध तस्करीले दुवै देशको व्यापार सम्बन्धमा प्रत्यक्ष असर परी रहेको बताए। मधेशमा भारतीय कम्पनीको लगानी अन्य प्रदेशको तुलनामा कम रहेको पनि उनले बताए। नजिकको छिमेकी भारतको लगानी नेपालमा घट्दो क्रममा हुनु दुःखद रहेको उनले बताए। दुवै देशले जलस्रोत र पर्यटनमा सहकार्य गर्दा आर्थिक समृद्धि सम्भव रहेको उनले बताए।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिनाले नेपालको बिजुलीको भारत र बंगलादेश ठूलो बजार रहेकाले नेपालले जलविद्युत् उत्पादनमा बढी ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए। भारत नेपालको ठूलो निर्यात गन्तव्य रहेकाले नेपालले भारतसँगको निर्यात व्यापारलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो। भारत आफ्नो विकासको अनुभव नेपालसँग साट्न इच्छुक रहेको पनि उनले बताए।
