मधेस प्रदेशसमाचारसमाजस्थानीय

फेटा घटनाका घाइतेको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने, अध्यक्ष अंसारीद्वारा शान्ति र सद्भाव कायम राख्न अपिल

बारा । बाराको फेटा गाउँपालिकाले अस्पताल भवन उद्घाटनका क्रममा भएको घटनामा घाइते भएका सबै व्यक्तिको उपचार खर्च बेहोर्ने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले सार्वजनिक अपिल जारी गर्दै घाइतेहरूको उपचारमा हालसम्म लागेको सम्पूर्ण आवश्यक खर्च गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

अध्यक्ष अंसारीले गत कात्तिक १४ गते अस्पताल भवन उद्घाटन कार्यक्रमका क्रममा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै घाइते आदित्य पासवानसहित सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले घाइते तथा उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गर्दै यस घटनाबाट गाउँपालिकावासीमा उत्पन्न असहज परिस्थितिप्रति गाउँपालिका गम्भीर रहेको बताएका छन्।

घटनाको वास्तविकता सार्वजनिक गर्न गाउँपालिकाले छानबिन समिति गठन गरिसकेको जनाएको छ। समितिबाट निष्पक्ष र तथ्यपरक छानबिन हुने विश्वास व्यक्त गर्दै अध्यक्ष अंसारीले घटनाको सत्यतथ्य बाहिर ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको उल्लेख गरेका छन्।

घाइतेहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै भविष्यमा थप उपचार तथा स्वास्थ्य सेवाको आवश्यकता परे नेपाल सरकार, सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक सहयोग जुटाउनसमेत गाउँपालिकाले पहल गर्ने जनाएको छ।

घटनापछि गाउँपालिकामा देखिएको तनावपूर्ण अवस्थालाई सामान्य बनाउन अध्यक्ष अंसारीले राजनीतिक दल, नागरिक समाज, युवा, स्थानीयवासी तथा सम्पूर्ण सरोकारवालालाई संयमित रहन आग्रह गरेका छन्। उनले सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि, अफवाह तथा उत्तेजनात्मक अभिव्यक्तिबाट टाढा रहन सबैलाई अपिल गरेका छन्।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा तथा प्रशासनिक सेवासहित नागरिकलाई प्रदान गरिने सम्पूर्ण सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ।

घटनाबाट उत्पन्न परिस्थितिलाई संवाद, सहकार्य र आपसी सद्भावमार्फत समाधान गर्दै गाउँपालिकालाई सामान्य अवस्थामा फर्काउन सबै पक्षको सहयोग आवश्यक रहेको अध्यक्ष अंसारीको भनाइ छ।

यसैबीच, गाउँपालिकाले दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण गाउँपालिकावासीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button