समाचार

पाँचौं सिरिजंघा वडाध्यक्ष कप : आयोजक सिरिजंघा फाइनलमा

पथरी, १८ कात्तिक। पाँचौँ सिरिजंघा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक सिरिजंघा स्पोर्टिङ क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा सिरिजंघाले टाडी स्पोर्टिङ क्लब मिक्लाजुङलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित सिरिजंघा खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीका सञ्जय लिम्बू र सुबास तामाङले गोल गरे। टाडीकातर्फबाट ओसन चाम्लिङ राईले एक गोल फर्काए।

खेलको पहिलो हाफमा आयोजक सिरिजंघाले दुई गोलको अग्रता बनाएको थियो। सञ्जय लिम्बूले पहिलो हाफको आठौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको ११ मिनेटपछि अर्थात् १९औँ मिनेटमा सुबास तामाङले अर्को गोल थप्दै अग्रता २–० बनाए।

दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको टाडीका ओसन चाम्लिङ राईले १४औँ मिनेटमा गोल गर्दै अन्तर घटाए। तर, बाँकी समयमा थप गोल हुन नसकेपछि आयोजक सिरिजंघाले २–१ को जितसहित फाइनल यात्रा तय गर्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका टाडी स्पोर्टिङ क्लबका रोनिस राई म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बुधबार लेटाङको सुकेचौरी एफसी र उर्लाबारीको गोर्खा युनाइटेड एफसीबीच हुनेछ। उक्त खेलको विजेताले उपाधिका लागि आयोजक सिरिजंघा स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

सिरिजंघा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button