समाचार

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसको आधिकारिकताका लागि १८ करोडको डिल भएको बारेमा तत्काल छानविन गर्न र भ्रमको खेती नगर्न कांग्रेका नेताहरुले सरकारसँग माग गरेका छन् । 

कांग्रेसका पूर्वमहामन्त्री गुरुराज घिमिरेले लोकतन्त्रमा प्रश्न उठाउन पाउने अधिकार सुरक्षित भए पनि आधारहीन भ्रम फैलाउन भने नपाइने स्पष्ट पारेका छन् । 

‘कुनै तथ्य वा प्रमाणबिना फैलाइएका हल्लाका पछाडि दौडिनु हुँदैन, वास्तविकता बुझेर मात्र धारणा बनाउनुपर्छ,’ घिमिरेले भने, ‘यदि कसैलाई यसमा आशंका छ भने राज्यका संयन्त्रमार्फत निष्पक्ष छानबिन गरे हुन्छ, यसका लागि कांग्रेसले आफैँ छानबिनको माग गरिरहेको छ।’

न्यायाधीशसँग ‘१८ करोडको डिल’ गरेको भनी लगाइएको आरोप पूर्णत: आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको घिमिरेको दावी छ। पार्टीको साख र नेतृत्वको छवि धमिल्याउने उद्देश्यले फैलाइएका यस्ता निराधार हल्लाको पछाडि नलाग्न उनले आमजनता तथा पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

सभापति गगन थापाको राजनीतिक प्रभाव र जनताको समर्थन बढ्दै गएको देखेर सरकार र सत्तारुढ दल तर्सिएको घिमिरेले दावी गरे । 
सभापति थापाले संसद् र सार्वजनिक मञ्चबाट सरकारका असफलता, सुशासनका कमजोरी र डेलिभरीको अभावबारे आक्रामक प्रश्न उठाएको भोलिपल्टै नियोजित रूपमा यस्तो आरोप सिर्जना गरिएको घिमिरेको भनाइ छ। 

सरकारले आफ्ना प्राथमिक दायित्वहरू बिर्सेर अनावश्यक विवाद र भ्रमको खेतीमा समय खेर फालिरहेको टिप्पणी गर्दै उनले भने, ‘काम गर्न छाडेर, प्राथमिकता भुलेर सरकार अनावश्यक कुरामा अल्झिएको छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button