समाचार

अदालतको फैसला कार्यान्वयनमा रौतहट प्रहरी सक्रिय, ३४ जना फरार प्रतिवादी पक्राउ

। विभिन्न अपराधमा अदालतबाट सजाय तथा जरिवाना तोकिए पनि फैसला कार्यान्वयनबाट जोगिँदै आएका ३४ जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

फरार प्रतिवादी नियन्त्रणमा लिने अभियानलाई तीव्रता दिएको प्रहरीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले छुट्टाछुट्टै मुद्दामा फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमवार रौतहट जिल्ला अदालत गौरमा बुझाइएको छ।

पक्राउ परेका ३४ जनाको विवरणले चेक अनादरदेखि सवारी ज्यान, चोरी, कुटपिट र कीर्तेसम्मका मुद्दामा फैसला कार्यान्वयन हुन बाँकी रहेको देखाएको छ।

 उनीहरूमध्ये १९ जना चेक अनादर मुद्दाका प्रतिवादी हुन्। यसले चेक अनादरसम्बन्धी मुद्दामा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका प्रतिवादीको संख्या उल्लेख्य रहेको देखाउँछ।

त्यस्तै चोरी तथा डाँका, कुटपिट, चोरी, कुटपिट अंगभंग, सवारी ज्यान, अभद्र व्यवहार, कीर्ते, आपराधिक उपद्रव, नापतौलसम्बन्धी कसुर तथा नागरिकता र लिखत कीर्तेसम्बन्धी मुद्दाका प्रतिवादी पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल ४ वर्ष ४ महिना १३ दिन कैद सजाय र ३ लाख ४ हजार १ सय १० रुपैयाँ जरिवाना असुल हुन बाँकी थियो।

तीमध्ये सवारी ज्यान मुद्दामा दोषी ठहर भएका एक जनालाई २ वर्ष ११ महिना ५ दिन कैद सजाय तोकिएको थियो।

 त्यस्तै नागरिकता तथा कीर्तेसम्बन्धी मुद्दामा कैद र जरिवाना दुवै सजाय तोकिएका प्रतिवादीसमेत पक्राउ परेका छन्।

अदालतबाट फैसला भइसकेका मुद्दामा सजाय भुक्तान नगरी फरार रहनेहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको डीएसपी गौतमले बताए।

फैसला कार्यान्वयनसँगै न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button