रौतहटमा अपराधदेखि विपद्सम्म चुनौती, तीन महिनामा ५७ लाख बढीको सामान बरामद

पछिल्लो तीन महिनाको प्रहरी तथ्याङ्कले अपराध नियन्त्रण, सडक सुरक्षा, विपद् व्यवस्थापन र सीमा क्षेत्रमा हुने अवैध कारोबार प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा देखाएको छ। रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा जिल्लामा ३०३ वटा अपराधका मुद्दा दर्ता भएका छन् भने भन्सार छलीका ५७ लाख ८७ हजार रुपैयाँभन्दा बढीका सामान बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालयको प्रगति विवरणअनुसार यस अवधिमा २०७ वटा सवारी दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका छन् भने ३०६ जना घाइते भएका छन्। त्यस्तै, ७२ वटा विपद्सम्बन्धी घटनामा १३ जनाको मृत्यु भएको छ। विपद्बाट मात्रै एक करोड आठ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
महिला तथा बालबालिकासम्बन्धी मुद्दा बढी
तीन महिनाको अवधिमा दर्ता भएका अपराधका मुद्दामध्ये महिला तथा बालबालिकासम्बन्धी ५९ वटा छन्। सामाजिक अपराधका ५७, चोरीका ४०, ज्यानसम्बन्धी ३६, सङ्गठित तथा आर्थिक अपराधका ३०, सवारी ज्यानसम्बन्धी २६, आत्महत्यासम्बन्धी १३ र अन्य प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीले चालु मुद्दाका १७९ जना प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनका क्रममा थप १३८ जना पक्राउ परेका छन्। उनीहरूबाट ४२ वर्ष सात महिना आठ दिन कैद र ६४ लाख ४५ हजार ५६० रुपैयाँ जरिवाना कार्यान्वयन गर्नुपर्ने विवरणमा उल्लेख छ।
उजुरीको चाप, अधिकांश फर्छ्योट
प्रहरी कार्यालयमा परेका १ हजार १४७ उजुरीमध्ये १ हजार १६ वटा फर्छ्योट भएका छन् भने १३१ वटा उजुरीको टुङ्गो लाग्न बाँकी छ। घरेलु हिंसासम्बन्धी ११५ उजुरीमध्ये ९९ वटा मिलापत्रबाट समाधान गरिएको प्रहरीले जनाएको छ।
लागूऔषधदेखि हतियारसम्म बरामद
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत आठवटा मुद्दा दर्ता गरी ११ जनालाई पक्राउ गरिएको छ। प्रहरीले पाँच किलो ८६५ ग्राम गाँजा, १५ ग्राम ७७ मिलिग्राम हेरोइन तथा विभिन्न प्रकारका औषधिजन्य पदार्थ बरामद गरेको छ। यसैगरी, परोहा नगरपालिका–८ पटेल चोकबाट १२ बोरको कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको प्रतिवेदनमा उल्लेख छ।
अवैध मदिरा नियन्त्रणका क्रममा ७५२ लिटर मदिरा बरामद भएको छ। प्राकृतिक सम्पदाको दोहन रोक्न गरिएको कारबाहीमा ३१ वटा ट्र्याक्टर नियन्त्रणमा लिएर १ लाख ६३ हजार रुपैयाँ जरिवाना गरिएको छ।
वन पैदावारको अवैध कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन्। उनीहरूबाट २५६.५ घनफिट काठ बरामद गर्नुका साथै तीनवटा ट्र्याक्टर र चारवटा साइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त कारबाहीबाट २ लाख २५ हजार ६०५ रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त भएको छ।
ट्राफिक कारबाहीबाट २३ लाख राजस्व
सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको ट्राफिक कारबाहीमा २ हजार २५१ वटा सवारीसाधन कारबाहीमा परेका छन्। त्यसबाट २३ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर राजेन्द्र थापामगरले बताएका छन्। दुर्घटनाको सङ्ख्या र मानवीय क्षतिले जिल्लामा सडक सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ। तीन महिनामा भएका दुर्घटनामा २७९ वटा सवारीसाधन संलग्न रहेको प्रहरीको विवरण छ।
साइबर ठगी र चोरीका घटनामा अनुसन्धान
मोबाइल बैंकिङ तथा ई–सेवाको कर्मचारी भएको बहाना बनाएर ‘केवाईसी अपडेट’का नाममा बैंकिङ विवरण र ओटीपी लिई रकम चोरी गर्ने आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। प्रहरीले हराएका तथा चोरी भएका ८१ वटा मोबाइल पनि फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जनाएको छ।
चाडपर्वमा ८९० प्रहरी परिचालन
दसैँ, तिहार र छठ पर्वका बेला शान्ति सुरक्षा कायम गर्न जिल्लामा ८९० जना प्रहरी कर्मचारी परिचालन हुने गरी विशेष सुरक्षा योजना लागू गरिएको छ। नागरिकलाई अपराध तथा सामाजिक विकृतिबारे सचेत गराउन प्रहरीले समुदाय केन्द्रित २४४ वटा कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ४ हजार ५७५ जना लाभान्वित भएका छन्। त्यस्तै, ३४ वटा विद्यालयमा सञ्चालित सचेतनामूलक कार्यक्रममा २ हजार ७५ जना विद्यार्थी सहभागी भएका छन्।
रौतहट प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमद्वारा जारी विज्ञप्तिमा अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध कारोबार रोकथाम र नागरिक सचेतनालाई प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ।



