मौलापुरका प्रहरी प्रमुख भरत केसी रौतहटकै उत्कृष्ट प्रहरी घोषित

रौतहट, ३१ असोज । रौतहटमा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरत केसी जिल्लाकै उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन्।
७१औँ प्रहरी दिवस–२०८३ का अवसरमा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा शुक्रबार आयोजित विशेष समारोहमा उनलाई उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मान गरिएको हो। मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले उनलाई कदरपत्र र नगद पुरस्कार प्रदान गरे।
प्रहरीको जिम्मेवारी केवल अपराध अनुसन्धान र नियन्त्रणमा सीमित नभई नागरिकलाई सुरक्षित वातावरणको प्रत्याभूति दिलाउनु पनि हो। यही जिम्मेवारी निर्वाहका क्रममा इन्स्पेक्टर केसीले देखाएको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।
प्रहरी संगठनमा कार्यक्षमता, अनुशासन र कर्तव्यनिष्ठतालाई प्रोत्साहन गर्ने उद्देश्यले दिइने यस्ता सम्मानले प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार, इमानदार र नागरिकमैत्री भएर काम गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।
रौतहट जिल्लाकै उत्कृष्ट प्रहरीको सम्मान प्राप्त गरेपछि इन्स्पेक्टर केसीलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना प्राप्त भइरहेको छ। उनको यो सम्मानलाई प्रहरी सेवाप्रतिको समर्पण, जिम्मेवारीबोध र प्रभावकारी कार्यसम्पादनको उच्च कदरका रूपमा हेरिएको छ।


