केवाइसी अपडेटको जालमा २२ जना, ५० लाख स्वाहा ! रौतहटबाट तीन पक्राउ

बैंक तथा ई–सेवाको कर्मचारी बनेर केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटबाट लाखौँ रुपैयाँ गायब पार्ने गिरोहको गतिविधि रौतहटमा खुलेको छ। अनलाइन ठगीको जालमा पारेर २२ जनाबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गौरले सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर ५ को कोइरी टोलमा छापा मारेर आरोपितहरूलाई पक्राउ गरिएको थियो। प्रहरीले उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
फोनबाट सुरु हुन्थ्यो ठगी, स्क्रिन शेयर गराएपछि खातामा पहुँच
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपितहरूले योजनाबद्ध रूपमा मोबाइल नम्बरमा सम्पर्क गरी सम्बन्धित व्यक्ति मोबाइल बैंकिङ प्रयोगकर्ता हो वा होइन भन्ने पहिचान गर्ने प्रयास गर्थे। मोबाइल बैंकिङ प्रयोग गर्ने व्यक्ति पहिचान भएपछि बैंक वा ई–सेवाको कर्मचारी भएको परिचय दिँदै केवाइसी अपडेट गर्नुपर्ने भन्दै फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरिन्थ्यो।
विश्वासमा पारिसकेपछि भिडियो कल गर्ने, मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र गुगल फारम भर्ने बहानामा बैंकिङ विवरण प्राप्त गर्ने गरेको प्रहरीको भनाइ छ।
यसरी प्राप्त विवरणको दुरुपयोग गरी पीडितको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच बनाइन्थ्यो। त्यसपछि खातामा रहेको रकम आफन्त वा अन्य व्यक्तिका बैंक खातामा र क्युआर कोडमार्फत स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
अर्थात्, बैंकको कर्मचारी भएको झूटो परिचयदेखि मोबाइलको स्क्रिन नियन्त्रणसम्मको प्रक्रियामार्फत सर्वसाधारणको रकम निकाल्ने तरिका अपनाइएको प्रहरीको अनुसन्धानले देखाएको छ।
ठगीको रकम डलर र क्रिप्टोकरेन्सीसम्म !
प्रहरीले ठगीबाट प्राप्त रकम अमेरिकी डलरमा रूपान्तरण गरी बाइनान्स एपमार्फत स्थानान्तरण गरिएको तथा क्रिप्टोकरेन्सीमा लगानीसमेत गरिएको हुन सक्ने आशंका गरेको छ। यद्यपि रकमको वास्तविक प्रवाह, डिजिटल कारोबारमा प्रयोग भएका खाताहरू र क्रिप्टोकरेन्सीसँगको सम्बन्धबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। २२ जनाको उजुरीबाट खुलेको झन्डै ५० लाख रुपैयाँको कारोबारमा अन्य व्यक्ति तथा खाताहरूको भूमिका के थियो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।
नगद, मोबाइल र बैंकका चेक बरामद
प्रहरीले आरोपितहरूबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरेको जनाएको छ। त्यसैगरी, सात थान मोबाइल, ११ थान सिमकार्ड, बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको छ।
प्रहरीले रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा प्रयोग गरिने संवाद तथा मोबाइलको स्क्रिन शेयर गराउने तरिकाबारे लेखिएका डायरी र कापीसमेत फेला पारेको जनाएको छ। बरामद सामग्रीमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख गरिएका कागजात पनि छन्। प्रहरीले यी सामग्रीको डिजिटल तथा आर्थिक कारोबारसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ।
मुख्य योजनाकारको खोजी जारी
प्रहरीका अनुसार घटनामा संलग्न मुख्य योजनाकारसहित अन्य व्यक्तिहरूको पहिचान भइसकेको छ। उनीहरूको खोजी भइरहेको एसपी रिजालले जानकारी दिएका छन्। ठगीबाट प्राप्त रकम कहाँ–कहाँ पुर्याइयो, कुन–कुन बैंक खाता तथा डिजिटल माध्यम प्रयोग भए र घटनामा अरू कति व्यक्ति संलग्न छन् भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको चेतावनी : स्क्रिन शेयर गरे खातासमेत जोखिममा
अनलाइन ठगीबाट जोगिन बैंक वा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने भन्दै अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन प्रहरीले आग्रह गरेको छ।
अपरिचित व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन शेयर नगर्न, ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण नदिन र शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक माध्यमबाट पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ। यस्ता ठगीमा परेका अन्य व्यक्तिलाई समेत प्रहरी कार्यालयमा सम्पर्क गरी उजुरी दिन आग्रह गरिएको छ।
प्रहरीले तीन जनालाई पक्राउ गरे पनि घटनाको वास्तविक सञ्जाल, रकमको अन्तिम गन्तव्य र अन्य संलग्न व्यक्तिहरूको भूमिका खुल्न बाँकी छ। अनुसन्धानबाट थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।




