वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

भारतको पञ्जाबस्थित हुसैनीवाला रेलवे स्टेशन यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। वर्षमा केवल दुई पटक मात्रै रेल आउने यस अनौठो स्टेशनको भिडियो भाइरल भएपछि सर्वसाधारणको ध्यान आकर्षित भएको हो।
फिरोजपुर र हुसैनीवाला सीमावर्ती क्षेत्रबीच रहेको यो स्टेशन उक्त रेलमार्गको अन्तिम स्टेशन हो। वर्षभरि सुनसान रहने यस स्टेशनमा विशेष अवसरमा मात्रै रेल सञ्चालन हुने गरेको बताइएको छ। प्रत्येक वर्ष मार्च २३ मा सहिद दिवस र अप्रिल १३ मा बैसाखीको अवसरमा यहाँ विशेष रेल आउने गर्छ।
मार्च २३ लाई भारतमा महान् क्रान्तिकारी भगत सिंहको सहादत दिवसका रूपमा मनाइन्छ। यस दिन देशका विभिन्न भागबाट मानिसहरू हुसैनीवाला सीमा क्षेत्रमा पुगेर भगत सिंहसहित अन्य सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्छन्। यही अवसरमा यात्रुहरूको सुविधाका लागि विशेष रेल सञ्चालन गरिने बताइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सुनसान रेलवे स्टेशन, रेलमार्ग र त्यहाँ आइपुग्ने रेलका दृश्य देख्न सकिन्छ। रोचक पक्ष के छ भने, रेल जुन दिशाबाट स्टेशनमा आइपुग्छ, त्यही दिशातर्फ फर्किने गरेको भिडियोमा देखिन्छ।
भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस स्टेशनको विशेषताबारे चासो व्यक्त गरिरहेका छन्। कतिपयले स्टेशनको नाम भगत सिंहको नामबाट राख्न सुझाव दिएका छन् भने केहीले आफूहरू त्यही क्षेत्रका बासिन्दा भएको भन्दै खुसी व्यक्त गरेका छन्। धेरैले यहाँ सञ्चालन हुने विशेष रेलबारे थप जानकारीसमेत मागेका छन्।
वर्षभरि सुनसान रहने र विशेष अवसरमा मात्रै रेल आउने यो स्टेशन भारतीय रेल सेवाको एउटा अनौठो उदाहरणका रूपमा चर्चामा आएको छ।



