अन्तर्राष्ट्रियमलेसिया बिशेषराजनीतिसमाचारसमाज

प्रवासी नेपाली मञ्च मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, खगेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन।

क्वालालम्पुर, मलेसिया। नेकपा एमाले निकट प्रवासी संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। अक्टोबर ११ मा क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा सम्पन्न अधिवेशनले खगेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनले संगठनको आगामी कार्यदिशाबारे छलफल गर्दै नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कमिटीको उपाध्यक्षमा मोहन घिमिरे, सचिवमा राजु पहारी तथा सहसचिवमा सबिता तामाङ र सविन लोप्चन तामाङ चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा ईश्वर जोशी, मातृका खतिवडा, टोपनारायण भण्डारी, लेखबहादुर खत्री, धनलाल पुन, रनबहादुर बुढा, विष्णु चौधरी, रुद्र विक, सुमित याक्खा, भरत केदेम, देवकुमार न्यौपाने र राम साउत क्षेत्री चयन भएका छन्। अधिवेशनको निर्वाचन मण्डलको अध्यक्षमा कृष्ण खडका  रहेका थिए।

नयाँ नेतृत्वसामु प्रवासी नेपालीका मुद्दा उठाउने जिम्मेवारी

नेतृत्व परिवर्तनसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या, उनीहरूको हक–अधिकार तथा प्रवासी नेपाली समुदायका साझा सवाललाई प्रभावकारी रूपमा उठान गर्ने अपेक्षा गरिएको छ। संगठनलाई थप व्यवस्थित, गतिशील र प्रभावकारी बनाउँदै प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने जिम्मेवारी पनि नयाँ नेतृत्वसामु रहेको छ।

अधिवेशनमा संगठनभित्र पुस्तान्तरणको आवश्यकतामाथि समेत जोड दिइएको थियो। निवर्तमान नेतृत्वका प्रतिनिधिहरूले नयाँ पुस्तालाई आवश्यक सहयोग, सुझाव र अनुभव प्रदान गर्दै सल्लाहकारको भूमिकामा रहने बताएका थिए। संगठनको संस्थागत अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकसाथ अघि बढाउन सके प्रवासी नेपालीका मुद्दा थप प्रभावकारी रूपमा उठाउन सकिने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्वलाई कामबाट क्षमता प्रमाणित गर्ने अवसर
कार्यक्रममा प्रमुख अतिथि पाठकले नयाँ नेतृत्वप्रति आशा व्यक्त गर्दै राज्यसत्ता सञ्चालनकै सन्दर्भमा नयाँ पुस्ताबाट अपेक्षित परिणाम आउन नसक्ने संकेत देखिएको टिप्पणी गरेका थिए। यद्यपि, अहिलेका लागि नयाँ नेतृत्वलाई ‘शंकाको सुविधा’ दिन सकिने उनको भनाइ थियो। उनले नयाँ नेतृत्वलाई काम गरेर आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिनुपर्ने आशय व्यक्त गरेका थिए।

विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता
अधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति टेक टमेटा तामाङ, तामाङ घेदुङका महासचिव सञ्जीव तामाङ तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए। अधिवेशनले मलेसियामा रहेका नेपाली समुदायसँग संगठनको समन्वय विस्तार गर्दै श्रमिकका समस्या, अधिकार र सामाजिक सवालमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
निर्वाचन मण्डलका अध्यक्ष कृष्ण  खड्काले नवनिर्वाचित कार्यसमितिबारे जानकारी दिएका हुन्।
नयाँ कमिटी सर्वसम्मत रूपमा चयन भएसँगै खगेन्द्र श्रेष्ठको नेतृत्वमा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाले आगामी कार्यकालको जिम्मेवारी सम्हाल्ने भएको छ। नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button