समाचार

चाडपर्वमा सरकारी अधिकारीलाई दशैं भेटी संस्कार ! प्रहरी प्रशासनकै मिलेमतोमा व्यापक तस्करी

दशैं-तिहार नजिकिँदै गर्दा सिरहामा अवैध कारोबारमा संलग्न तथा क्रसर सञ्चालकहरुको समूहले सरकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई ‘दशैं भेटी’ चढाउने गरेको पाइएको छ।

सीमा नाकामा तस्करीमा संलग्न व्यक्ति तथा अन्य अवैध कारोबार गर्नेहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीका प्रमुखसहित सम्बन्धित निकायका अधिकारीलाई चाडपर्वको नाममा रकम बुझाउने गरेको पाइएको हो।  सिरहामा जम्मा ४६ किलोमिटर खुल्ला सीमानाकामा व्यापक प्रहरी परिचालन गरिए पनि तस्करि नियन्त्रण हुन नसक्नुले पनि प्रहरि प्रशासनकै मिलोमतो रहेको पुष्टि गर्छ।

नेपालबाट भरततर्फ मदिरा, चाइनिज स्याउ,मटर तस्करी गर्ने र भारतीय बजारबाट खाद्यान्न सामाग्री, स्पेयर्स पर्टस, लागु औषधलगायतका सामग्री तस्करी गरी नेपाल भित्र्याउने ठुलोदेखि सानो तस्करहरुले जिल्ला मातहतका सबै इलाका तथा प्रहरी बिटसम्ममा समेत बाध्य भई दशै खर्च बुझाउनुपर्ने तस्करहरु नै बताउँछन् । तस्कर मात्र नभई सिरहामा अवैध रुपमा बिना नवीकरण तथा मापदण्ड नपुगेका क्रसर व्यवसायीहरु र जिल्लाको सिरहा, माडर बजार, लाहन, गोलबजार, मिर्चैयालगायतका बजारमा रेष्टुरेन्टको नाममा देह ब्यपार चलाउनेहरुले समेत सम्बन्धित निकायलाई दशै भेटी चढाउनु पर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ।

तस्करहरूले प्रहरी प्रशासनको ओहदा अनुसारको दशै खर्च बुझाउने गरेको स्रोतको दाबी छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीले सादा पोसाकमा खटाइएको प्रहरीहरुमार्फत दशै खर्चको नाममा अवैध रकम असुली गर्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा सिरहा नामुद तस्करले बताए। उनले भने, सिरहामा न कहिले तस्करी रुकेको छ। न रुक्ने छ। चाहे जोसुकै गृहमन्त्री आएपनि तस्करि नियन्त्रण गर्न नसकिने उनको जिकिर छ। उनले थपे, देशमा जोसुकै गृहमन्त्री आए पनि सिरहामा तस्करी नियन्त्रण गर्न कठिन छ। उनका अनुसार इमानदार कर्मचारी आए पनि पैसा बुझाएपछि उनीहरूबाट नै सहजता पाउने प्रवृत्ति छ ।

क्रसर व्यावसायिहरु पनि प्रति क्रसर कर्मचारीहरुको ओहदा अनुसार ५ हजार देखि ३० हजार रुपैयाँ, साना तस्करलेपनि ५ हजारदेखि ५० हजार रुपैयाँसम्म बुझाउने गरेको क्रसर व्यावसायिहरुको आरोप छ। मातहतका इलाका तथा अन्य तहमा समेत रकम दिने गरेको उनिहरुको दाबी छ। 

सिरहामा नवीकरण भएका तथा नभएका गरी करिब १३ वटा क्रसर व्यवसायीहरु छन् भने दर्ताबिनै ग्राभेल उत्खनन गर्ने करिब १० जना, ठूला तस्कर करिब ९० जना र साइकल तथा मोटरसाइकलमार्फत सामान ओसारपसार गर्ने करिब ५० जना रहेको स्रोतको दाबी छ। यी समूहबाट चाडपर्वका नाममा लाखौं रुपैयाँ उठ्ने गरेको स्रोतको भनाइ छ।

एक क्रसर व्यवसायीले नाम नखोल्ने सर्तमा भने दशैंका बेला रकम बुझाउनुको मुख्य उद्देश्य अवैध उत्खनन तथा क्रसर सञ्चालनमा ‘कानुनी अड्चन’ नआओस् भन्ने हो। कुनै न कुनै बहानामा अतिरिक्त रकम नबुझाए विभिन्न किसिमको अबरोधहरुहुने गरेको उनको भनाइ छ। त्यस्तै, एक तस्करले पनि आफ्नो रुटमा सहजता र सुरक्षा सुनिश्चित गर्न प्रहरी तथा सशस्त्र प्रहरीका सम्बन्धित अधिकारीलाई रकम बुझाउनुपर्ने दाबी गरेका छन्।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य देवकुमार यादवले चाडपर्वको नाममा सरकारी अधिकारीलाई रकम बुझाउने प्रथा सत्य भए त्यसले विधिको शासनमै गम्भीर असर पार्ने बताए। यद्यपि आरोपित सरकारी अधिकारीहरूले भने रकम लिएको आरोप अस्वीकार गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमै आउन सकेनन् । 

जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी रमेश बहादुर पाललाइ दशैको मुखमा ब्यापक तस्करी भइरहेको छ वास्तविक के हो? भने जिज्ञासा्मा जिल्लामा तस्करी भएको मैले कसरि भने तपाईहरु खोजनुस अनि बुझेर समाचार लुख्नुस भन्दै पन्छिए। पुनः तपाईको मातहतका प्रहरि चौकीहरुमा तस्करहरुले दशै भेटी दिने गरेको आरोप छ नि? भन्ने प्रश्नमा डिएसपी पालले भने, ´कसले कसलाई दिएको हो वा कहाँ पुगेन त्यो मलाई जानकारी भएन तर तस्करी हाम्रो नजरमा शुन्य छ ; भन्दै सम्पर्कमा आउन चाहेनन् ।  

नेपाली संस्कृतिमा मान्यजनलाई ढोगेर दक्षिणा वा उपहार दिने चलन छ। तर, यसैको आडमा सरकारी कार्यालयहरूमा काम छिटो गराउन वा स्वार्थ सिद्ध गर्न कर्मचारीलाई उपहारको नाममा अबैध रकम दिने प्रवृत्ति बढेको स्थानीयहरुको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button