चाडपर्वमा मधेशको सुरक्षा योजना सार्वजनिक, सात हजार बढी प्रहरी परिचालन

जनकपुरधाम, २२ असाेज । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेशमा ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरीले जनाए अनुसार असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी विशेष चाडपर्व सुरक्षा योजना तयार पारिएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्व अवधिभर १ हजार ५११ वटा ड्युटीमा प्रहरी परिचालन गरिनेछ भने सबैभन्दा बढी धनुषामा १ हजार ५९९ र सबैभन्दा कम सिरहामा ६५१ प्रहरी खटाइने मधेश प्रहरीले जनाएको छ । त्यस्तै, पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७ र सप्तरीमा ८५७ प्रहरी परिचालन गरिने प्रदेश प्रहरीले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
चाडपर्वका बेला सुरक्षा व्यवस्था प्रभावकारी बनाउन क्विक रेस्पोन्स टिम (क्यूआरटी), स्ट्राइकिङ टोली, ट्राफिक चेकिङ, मोबाइल तथा पैदल गस्ती र शंकास्पद क्षेत्रमा पिकेट परिचालन गरिने प्रहरीले जनाएको छ । राजमार्गमा स्कर्टिङ तथा यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारीसमेत गरिएको छ । सीमा क्षेत्रमा चोरी तथा तस्करी नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा, बजार अनुगमन, कर्डन एन्ड सर्च तथा सभा, जुलुस र धर्नाका क्रममा आकस्मिक सुरक्षा व्यवस्थासमेत मिलाइनेछ ।
सीमा नाकामा यात्रु तथा सर्वसाधारणको सहायताका लागि हेल्प डेस्क पनि सञ्चालन गरिनेछ । सुरक्षा योजनाअनुसार विभिन्न नियमित ड्युटीमा मात्रै ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन् । बाँकी जनशक्ति कमाण्ड पोस्ट, संयुक्त गस्ती, सादा पोशाकमा सूचना संकलन र आकस्मिक सुरक्षाका लागि परिचालन गरिनेछ ।
नेपाल भारत खुला सीमाका कारण चाडपर्वको समयमा मानिसको आवतजावत बढ्ने भएकाले तस्करी तथा अवैध सामान ओसारपसार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ भने धार्मिक स्थलमा हुने भीडमा चोरी, लुटपाट तथा मानिस हराउने घटना रोक्न विशेष निगरानी गरिनेछ । छठका बेला घाटमा डुबान, डुब्ने तथा भीडजन्य दुर्घटनाको जोखिमलाई समेत सुरक्षा योजनामा समेटिएको छ ।
प्रहरीले पटका तथा आतिसबाजीबाट हुन सक्ने आगलागी, जुवा तास तथा अवैध सट्टेबाजी, मदिरा सेवनबाट हुने झैझगडा, घरेलु हिंसा, पाकेटमारी, चोरी र लुटपाटलाई समेत चाडपर्व अवधिका प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ । सामाजिक सञ्जालमार्फत गलत सूचना तथा अफवाह फैलाएर सामाजिक तनाव सिर्जना हुन सक्ने भएकाले त्यसमाथि समेत निगरानी राखिनेछ ।
सुनचाँदी पसल, बैंक तथा नगद कारोबार हुने स्थानमा चोरी तथा डकैती रोक्न विशेष सुरक्षा व्यवस्था गरिनेछ । अवैध मदिरा, लागुऔषध तथा प्रतिबन्धित पदार्थको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिमाथि पनि निगरानी बढाइने प्रहरीले जनाएको छ ।



