कृषि मन्त्री गिता चौधरीद्वारा सैनामैनाका किसानहरूसँग प्रत्यक्ष भेटघाट, समस्या समाधानको प्रतिबद्धता

काठमाडौं, १९ असोज । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय किसानसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेकी छन्।
भेटघाटका क्रममा किसानहरूले कृषि उत्पादन तथा बजारीकरण, सिँचाइ, मल–बीउको उपलब्धता, कृषि पूर्वाधार तथा स्थानीयस्तरमा भोग्दै आएका विभिन्न समस्याबारे मन्त्री चौधरीसमक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए।
मन्त्री चौधरीले असोज १५ गतेदेखि १८ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न वन तथा कृषि क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्।
किसानका समस्या र सुझावलाई प्रत्यक्ष रूपमा सुन्नुभएकी मन्त्री चौधरीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानको आयआर्जन र जीवनस्तर सुधार गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले किसानसँगको प्रत्यक्ष संवादबाट स्थानीयस्तरका वास्तविक समस्या पहिचान गरी तिनको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिने बताइन्।
मन्त्री चौधरीको स्थलगत भेटघाटलाई किसानका समस्या प्रत्यक्ष रूपमा बुझ्ने तथा कृषि क्षेत्रका चुनौती समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्ने पहलका रूपमा लिइएको छ।





