कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ, १९ असाेज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। चिया नास्ता र खाजापछि नेताहरू खुलामञ्चमा आएपछि बैठक सुरु भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्दसत्र शुरू गर्ने कार्यक्रम छ ।
चालिसेले भने, 'पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेश गर्नुहुन्छ सही अनुसार नै बैठकले एजेन्डा अनुमोदन गर्छ र सोही आधारमा बन्दसत्र बस्छ ।' उनका अनुसार बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
महाधिवेशन निर्वाचन समितिले साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्नेछ। प्राप्त दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारी अघि बढाएको छ।



