सुर्खेतमा पहिलोपटक विश्व लगानीकर्ता सप्ताह मनाइँदै

सुर्खेत, १९ असोज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विश्व लगानीकर्ता सप्ताह व्यताका साथ मनाइएको छ ।
नेपाल धितोपत्र बोर्डका निर्देशक मुक्तिनाथ श्रोष्ठको उपस्थितिमा आज एक कार्यक्रमको आयोजना गरी प्रभातफेरीमार्फत सप्ताह मनाउन सुरु गएिको हो । यो सप्ताह आजदेखि असोज २५ गतेसम्म मनाईने बोर्डका निर्देशक श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो सप्ताह सुर्खेतमा पहिलोपटक मनाउन लागिएको हो ।
‘नेपालमा पछिल्लो समय पुँजी बजारप्रति नयाँ तथा युवा लगानीकर्ताको आकर्षण र सहभागिता निरन्तर बढिरहेको छ । यो आफैंमा सकारात्मक पक्ष हो। तर लगानीसँगै जोखिमको ज्ञान, सही सूचना र जिम्मेवार लगानी व्यवहार पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले लगानीकर्तालाई सही सूचना उपलब्ध गराउने, पुँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने र जोखिम बुझेर लगानी गर्ने वातावरण निर्माण गर्नु हामी सबैको साझा दायित्व हो ।’
स्टक ब्रोकर्स एसोसियसन नेपालका महासचिव तथा इम्पेरियल सेक्युरिटिज कम्पनि लिमिटेडका कार्यकारी अध्यक्ष भक्तिराम घिमिरेले भने, ‘स्टक ब्रोकरहरू लगानीकर्ता र पूँजी बजारबीचको महत्वपूर्ण सम्पर्क बिन्दु हुन् । त्यसैले लगानीकर्ता संरक्षण, पारदर्शिता, सेवाको गुणस्तर र लगानीकर्ताको विश्वास कायम राख्ने विषयमा हाम्रो विशेष जिम्मेवारी रहन्छ ।’
उनले विशेषगरी कर्णाली प्रदेशलाई उच्च प्राथमिकतामा राख्दै इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले वि.सं. २०७६ सालदेखि यस क्षेत्रमा शेयर कारोबार तथा डिम्याट सेवा उपलब्ध गराउँदै आएको बताए ।
‘विभिन्न समयमा पुँजी बजारसम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै यहाँका लगानीकर्तालाई पुँजी बजारबारे बुझाउन र सचेत बनाउन निरन्तर प्रयास गर्दै आएका छौँ ।’ उनले भने, ‘हाम्रो उद्देश्य केवल सेवा प्रदान गर्नु मात्र होइन, जानकार, सचेत र जिम्मेवार लगानीकर्ता निर्माण गर्नु पनि हो ।’
प्रभातफेरी कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्का, बोर्डका निर्देशक अम्बिका प्रसाद गिरी, बोर्डका अधिकृत राजुबहादुर जी.सी., सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी, सुर्खेतस्थित विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।



