बाराको मटिअर्वा नाका लागूऔषधका दृष्टिले संवेदनशील

सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टले बाराको सीमा क्षेत्रमा हुने चोरी–पैठारी, लागूऔषध ओसारपसार, सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताएका छन्।
कलैया उपमहानगरपालिका–१६ दक्षिण झिट्कैयास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टरमा आयोजित समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सीमा सुरक्षा प्रभावकारी बनाउन सुरक्षा निकायसँगै स्थानीय नागरिक, व्यवसायी, सञ्चारकर्मी र राजनीतिक दलको सहकार्य आवश्यक रहेको बताएका छन्।
डीआईजी भट्टले बारामा करिब ६० किलोमिटर खुला सीमा रहेकाले सीमा अपराध नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गरे। उनका अनुसार मटिअर्वा नाका लागूऔषध ओसारपसारका दृष्टिले संवेदनशील क्षेत्रका रूपमा देखिएको छ। ‘सबैभन्दा बढी ड्रगिस्ट हिँड्ने ठाउँ मटिअर्वा हो,’ उनले भने।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी बढाउनुका साथै सीसीटीभीको व्यवस्थापन र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँगको समन्वयलाई थप प्रभावकारी बनाउने उनले बताए।
डीआईजी भट्टले सीमा क्षेत्रमा हुने गतिविधिबारे सुनेको भरमा नभई प्रमाणसहित सूचना उपलब्ध गराउन नागरिकलाई आग्रह गरे। नागरिकबाट प्राप्त सूचनाका आधारमा सीमा अपराध र अवैध गतिविधिमाथि निगरानी बढाउन सहज हुने उनको भनाइ थियो।
उनले सशस्त्र प्रहरीभित्रको आन्तरिक शुद्धीकरणलाई समेत प्राथमिकता दिइएको दाबी गरे। सीमा क्षेत्रमा खटिएका कर्मचारीमाथि अनियमितताको सूचना आए प्रमाणका आधारमा कारबाही गरिने बताउँदै उनले बारामा गलत कार्यमा संलग्न केही सशस्त्र प्रहरी कर्मचारीमाथि कारबाही गरिएको जानकारी दिए।
‘हामीले एक रुपैयाँ पनि खाँदैनौँ। सशस्त्र प्रहरीले पैसा मागेको वा खाएको सूचना भए प्रमाणसहित दिनुहोस्,’ उनले भने।
सीमा स्तम्भको अभिलेख राख्ने तथा आवश्यक मर्मतसम्भार गर्ने, सीमा क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना हटाउने र सीमावर्ती बस्तीका नागरिकको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको उनले बताए।
अन्तरक्रियामा सहभागी व्यवसायी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिले सीमावर्ती भारतीय बजारबाट सामान भित्रिँदा स्थानीय व्यवसायमा परेको प्रभाव, सीमा सुरक्षाका समस्या तथा व्यापार सहजीकरणका विषय उठाएका थिए। कलैया बजारमा भारतीय सामानको बिक्री बढिरहेको विषयसमेत छलफलमा आएको थियो।
यस्तै, सहभागीहरूले शान्ति–सुरक्षा, अपराध नियन्त्रण, विपद्का समयमा सशस्त्र प्रहरीको भूमिका तथा नागरिकसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए।
डीआईजी भट्टले नदी तथा अन्य विपद्का घटनामा तत्काल उद्धार गर्न सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको बताए। उनले गोताखोर टोलीको क्षमता वृद्धि गरिएको जानकारी दिँदै सीमा सुरक्षासँगै विपद् व्यवस्थापन र नागरिक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको बताए।
उनले सशस्त्र प्रहरी समाजमै रहेको सुरक्षा निकाय भएकाले नागरिकको साथ र सहयोगबिना प्रभावकारी रूपमा काम गर्न नसकिने उल्लेख गरे। विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई कार्यसम्पादनमा समेट्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जेन्जी युवा, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता थियो। सहभागीहरूले जिल्लाको समग्र शान्ति–सुरक्षा र सीमा क्षेत्रमा देखिएका समस्याबारे डीआईजी भट्टको ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्न सुझाव दिएका थिए।
आईतवार साँझ सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराका प्रमुख एसपी विशाल सिलवाल, जिल्ला प्रवक्ता एवं डिएसपी विक्रममणि अधिकारीलगायतको उपस्थिति रहेको थियो।



