उपल्लो मुस्ताङमा वर्षा र हिमपात: बालीनाली नष्ट, भूकम्पपीडितको बिचल्ली

पोखरा, ११ असोज । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ। बाली भित्र्याउने मुख्य समयमै मौसम प्रतिकूल बनेपछि खेतबारीमा पाकेको अन्नबाली नष्ट हुनुका साथै भूकम्पपीडितहरूको बिचल्ली भएको हो।
केही समयअघिको भूकम्पबाट प्रभावित भई पाल तथा चर्किएका घरमा बसोबास गरिरहेका नागरिकहरू वर्षा र हिमपातका कारण बढी प्रभावित भएका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार भत्किएका र चर्किएका घर तथा पालभित्र पानी पसेपछि भूकम्पपीडितहरू चिसोमा रात बिताउन बाध्य छन्।
वर्षा र हिमपातले बस्तीमा मात्र नभई किसानको वर्षभरिको मिहिनेतसमेत खेर फालेको छ। पाकेको बाली भित्र्याउने बेलामै हिउँ र पानीले नष्ट गरेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्।
अत्यधिक चिसो बढेकाले अध्यक्ष गुरुङले सर्वसाधारणलाई धैर्य र सतर्क रहन अपिल गरेका छन्। वर्षा र हिमपात रोकिएपछि मात्र क्षतिको पूर्ण र यकिन विवरण आउने गाउँपालिकाले जनाएको छ।



