खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा बिमोचन

नागोया, जापान । वरिष्ठ खेल पत्रकार नवीन अर्यालद्वारा लिखित बहुप्रतीक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानको नागोयामा विमोचन गरिएको छ।
नागोयास्थित दियालो रेस्टुरेन्टमा आयोजित समारोहमा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पुस्तक विमोचन गरेका हुन्।
विमोचन समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचन, नेपाल सफ्ट टेनिस संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका मानार्थ अध्यक्ष विनयविक्रम शाह, पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे, मोना आईसीसी उपाध्यक्ष दीपक केसी, एनआरएनए जापानका महासचिव श्याम शितल श्रेष्ठ तथा एनआरएनए जापान नागोया क्षेत्रीय समितिका संयोजक योमन देवानलगायतको उपस्थिति थियो।
पुस्तक विमोचनपछि धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले ‘नेपाल–जापान खेल सम्बन्ध’ले दुई देशबीचको सम्बन्धलाई खेलकुदको ऐतिहासिक पाटोबाट बुझ्न महत्वपूर्ण सहयोग पुग्ने बताए।
उनले जापानसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पाँच वर्षअघि नै खेलकुदका माध्यमबाट दुई देश जोडिइसकेको तथ्य पुस्तकबाट जानकारी पाएको उल्लेख गरे।
“नवीन अर्यालको पुस्तकको माध्यमबाट नेपाल र जापानबीचको सम्बन्ध बुझ्न सहज हुनेछ। जापानसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पाँच वर्ष अगाडि नै खेलमार्फत हामी जोडिइसकेका थियौँ भन्ने जानकारी यही पुस्तकबाट थाहा पाएँ,” पौडेलले भने।
उनले पुस्तक नेपाल–जापान सम्बन्धका लागि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचनले पुस्तकमार्फत नेपाल–जापानबीचको खेल सम्बन्ध बुझ्ने अवसर पाएको भन्दै लेखक अर्याललाई धन्यवाद दिए। उनले पुस्तक नेपालका लागि मात्र नभई जापानका लागि समेत महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताए।
“जापानमा बसिरहेका हामी नेपालीहरूलाई नेपाल–जापानबीचको खेल सम्बन्ध उजागर गराइदिनुभएकोमा लेखक अर्याललाई धन्यवाद भन्न चाहन्छु। पुस्तकमा दुई देशको मित्रतालाई खेलकुदको माध्यमबाट उजागर गर्न खोजिएको छ,” शेरचनले भने।
नेपाल र जापानबीच खेलकुदका माध्यमबाट सम्बन्ध स्थापित भएको करिब ७५ वर्ष पुगेको छ। यही ऐतिहासिक सम्बन्धलाई आधार बनाएर लेखक अर्यालले पुस्तकमा दुई देशबीचको खेलकुद यात्रालाई समेटेका छन्।
खेलकुदका माध्यमबाट नेपाल र जापानबीच विकसित हुँदै आएको सम्बन्ध, सहकार्य र मित्रताको इतिहासलाई अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक तयार गरिएको बताइएको छ।
जापानी समयअनुसार साँझ ७ बजे सुरु भएको विमोचन कार्यक्रममा गलकोट समाज जापानका उपाध्यक्ष भेषनाथ गौतम, व्यवसायी डिलाराम खरेल, बुद्धिजीवी एवं एनआरएनए जापान नागोया क्षेत्रीय समितिका पूर्वउपसंयोजक नवराज चापागाईं, एनआरएनए जापान नागोया क्षेत्रीय समितिका उपसंयोजक यामबहादुर पाइजा मगर, स्थानीय पत्रकार कविकिरण न्यौपाने तथा निसान राणालगायतको पनि उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन पत्रकार कान्ता गिरीले गरेकी थिइन्।
‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकले खेलकुदको इतिहाससँगै दुई देशबीचको मित्रता र सम्बन्धलाई नयाँ दृष्टिकोणबाट बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



