समाचार

भ्रष्टाचारमा मधेश पहिलो, गण्डकी पछाडि

 भ्रष्टाचारको सूचीमा मधेश प्रदेश पहिलो नम्बरमा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी उजुरी प्रदेशको रुपमा मधेश प्रदेश रहेको उल्लेख छ । 

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अघिल्लाे आर्थिक वर्षमा सातवटै प्रदेशसँग सम्बन्धित गरी कुल पाँच हजार ३०५ वटा उजुरी दर्ता भएका थिए । ती मध्ये मधेश प्रदेशका मात्रै उजुरी संख्या एक हजार ४७५ रहेको छ । याे कुल उजुरीको २७ दशमलव ८० प्रतिशत हो ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा कम उजुरी गण्डकी प्रदेशसँग सम्बन्धित रहेको आयोगको प्रतिवेदनमा भनिएको छ । गण्डकी प्रदेशविरुद्ध ४०७ वटा अर्थात् कुल उजुरीको ७ दशमलव ६७ प्रतिशत उजुरी दर्ता भएका छन् ।

मधेश प्रदेशमा भने भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा बढी रहेको अख्तियारले जनाएको छ । आयोगका अनुसार भूमिसहित विभिन्न १० वटा मन्त्रालय तथा क्षेत्रसँग सम्बन्धितमा पनि उल्लेख्य उजुरी रहेको छ । 

अख्तियारले प्रदेश सरकार तथा मातहतका निकायमा हुने कामकारबाहीसँग सम्बन्धित उजुरीलाई छानबिन तथा अनुसन्धानको प्रक्रियामा लैजाने गरेको छ । चालु आर्थिक वर्षमा समेत प्रदेश तथा स्थानीय तहका सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरी आयोगको निगरानीमा रहने अख्तियारले जनाएको छ ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button