पहिलो पटक अफ्रिकी सहरले विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्ने

काठमाडौं, ३१ भदौ। विश्व एथलेटिक्सले घोषणा गरेअनुसार सन् २०२९ को विश्व एथलेटिक्स च्याम्पियनसिप नैरोबीमा आयोजना हुनेछ ।
लन्डन, म्युनिख र रोमलाई पछि पार्दै नैरोबी यो प्रतियोगिता आयोजना गर्ने पहिलो अफ्रिकी सहर बन्ने भएको छ।
हालै सम्पन्न 'अल्टिमेट च्याम्पियनसिप' आयोजना गरेको हंगेरीको बुडापेस्टमा मंगलबार बसेको परिषद् बैठकपछि ट्र्याक एन्ड फिल्डको नियामक निकायले सन् २०३१ को च्याम्पियनसिप जर्मनीको म्युनिखमा आयोजना गरिने जानकारी दिएको छ। "सन् २०२९ र २०३१ का लागि चारवटा उत्कृष्ट प्रस्तावहरू प्राप्त हुनु हाम्रो लागि सौभाग्यको कुरा थियो र परिषद्का लागि यो निर्णय लिन सजिलो थिएन," वर्ल्ड एथलेटिक्सका अध्यक्ष सेबास्टियन कोएले पत्रकार सम्मेलनमा बताए। सन् २०२७ को प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी यसअघि नै बेइजिङलाई दिइसकिएको छ।
"परिषद्को आजको निर्णयको अर्थ अबका तीन संस्करणहरूमा हामी एसिया, अफ्रिका र युरोपमा 'वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप' आयोजना गर्न सक्षम हुनेछौं," कोएले थपे, "हाम्रो च्याम्पियनसिप पहिलो पटक अफ्रिकामा लैजानु ऐतिहासिक हुनेछ। नैरोबीले निकै प्रभावशाली र भावनात्मक प्रस्ताव प्रस्तुत गरेको छ, उपयुक्त आयोजक, उपयुक्त प्रस्ताव र उपयुक्त परिस्थिति मिलेको अवस्थामा विश्व च्याम्पियनसिप अफ्रिकामा आउनु महत्त्वपूर्ण थियो।"
उनले अगाडी भने, "नैरोबीले स्पष्ट रूपमा प्रमाणित गरेको छ कि केन्या र समग्र अफ्रिकामा हाम्रो खेलको विकासलाई तीव्र गति दिने र पूरै महादेशलाई प्रेरित गर्ने खालको प्रभावशाली विरासत छोड्ने यो उनीहरूको उपयुक्त समय हो।"
सन् २०२५ को विश्व च्याम्पियनसिपको दाबेदारीमा असफल भएको केन्याले यसअघि मोम्बासामा सन् २००७ को 'वर्ल्ड क्रस कन्ट्री च्याम्पियनसिप', नैरोबीमा सन् २०१७ को 'वर्ल्ड अन्डर-१८ च्याम्पियनसिप' र राजधानीमा सन् २०२१ को 'वर्ल्ड अन्डर-२० च्याम्पियनसिप' आयोजना गरिसकेको छ। नैरोबीले सन् २०१० को अफ्रिकी एथलेटिक्स च्याम्पियनसिपको पनि आयोजना गरेको थियो।
"सन् २०२५ को आयोजना दाबी गर्ने प्रक्रियामा समेत सहभागी भइसकेको हुनाले, [नैरोबीको] टोलीले आवश्यक कुराहरू राम्ररी बुझ्यो र थप बलियो प्रस्ताव तथा पुनर्निर्माण गरिएको कासारानी रंगशालासहित प्रस्तुत भयो; 'अफ्रिका कप अफ नेसन्स २०२७' आयोजना गर्नुअघि हाल यस रंगशालाको पूर्ण स्तरवृद्धि (ओभरहल) को काम भइरहेको छ," कोएले भने।



