चन्द्रपुर नगरपालिकाको बैंक खाता रोकिँदा सेवा प्रवाहमा असर

रौतहट, ३० भदौ । चन्द्रपुर नगरपालिकाको बैंक खाता लामो समयदेखि सञ्चालनमा नआएपछि नगरपालिकाको आर्थिक तथा प्रशासनिक गतिविधि प्रभावित भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुर नगर समितिले तत्काल समस्या समाधान गर्न माग गरेको छ।
खाता सञ्चालनमा नआउँदा शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत नियमित सार्वजनिक सेवा प्रभावित भएको र यसको प्रत्यक्ष मार नगरवासीले खेप्नुपरेको रास्वपाको आरोप छ।
समस्या समाधानका लागि दबाब दिन रास्वपा चन्द्रपुर नगर समितिको टोली मंगलबार नगरपालिका कार्यालय पुगेको थियो। टोलीले नगर प्रमुखलाई सम्बोधन गर्दै बैंक खाता तत्काल सञ्चालनमा ल्याउन मागसहित लिखित विज्ञप्ति बुझाएको हो।
नगर सभापति अरुण लामाको नेतृत्वमा जिल्ला सदस्य अजयकुमार शाह, वडा नम्बर ४ का सभापति रेवती दाहाल, वडा नम्बर ६ का सभापति विष्णु थापा तथा युवा नेता सुशील यादव, नवीन शाह र सन्तोष काफ्लेलगायत नेता तथा कार्यकर्ता नगरपालिका पुगेका थिए।
नगर सभापति लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा बैंक खाता सञ्चालन हुन नसक्दा नगरपालिकाको नियमित आर्थिक कारोबार प्रभावित हुनुका साथै शिक्षा, स्वास्थ्य र विकास निर्माणसँग सम्बन्धित काममा समेत असर परेको उल्लेख गरिएको छ।
रास्वपाले बैंक खाता सञ्चालन नहुनुलाई नगरपालिकाको सामान्य प्रशासनिक समस्या मात्र नभई सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको विषय भनेको छ। लामो समयसम्म समस्या कायमै रहँदा नगरवासीले अनावश्यक दु:ख र सास्ती व्यहोर्नुपरेको समितिको दाबी छ।
नगरपालिकाको आर्थिक गतिविधि नियमित नहुँदा विकास निर्माण तथा सेवा प्रवाहमा थप असर पर्न सक्ने भन्दै रास्वपाले सम्बन्धित पक्षलाई तत्काल पहल गर्न आग्रह गरेको छ।
समितिले समस्या समाधानका लागि आवश्यक कदम चाल्न नगरपालिका नेतृत्वलाई आग्रह गर्दै तत्काल खाता सञ्चालन नभए नगरपालिका कार्यालयमै उपस्थित भएर दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।



