नेपाल र माइक्रोनेसियाबिच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८५ देशमा पुग्यो

काठमाडौं, ३० भदाैं । नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा अर्को एउटा नयाँ उपलब्धि थपिएको छ।
नेपाल र 'फेडरेटेड स्टेट्स अफ माइक्रोनेसिया' बिच आज औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसङ्घका लागि फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस. लिप्वेले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रमपछि भएको सौहार्दपूर्ण द्विपक्षीय भेटघाटका क्रममा दुवै देशका राजदूतहरूले आपसी हितका विविध विषयमा विचार-विमर्श गरेका थिए। सो अवसरमा उनीहरूले संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने संयुक्त प्रतिबद्धता समेत दोहोर्याएका छन्।
माइक्रोनेसियासँग सम्बन्ध कायम भएसँगै नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तार भएका देशहरूको सङ्ख्या १८५ पुगेको छ।
नेपाल सरकारले फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियासँगको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनुका साथै संयुक्त राष्ट्रसङ्घ तथा अन्य बहुपक्षीय मञ्चहरूमा दुवै देशका साझा प्राथमिकताहरूलाई संयुक्त रूपमा अघि बढाउन तत्पर रहेको जनाएको छ।




