समाचार

भोटेकोशी बाढी : १ हजार ३८४ को शव फेला, चार हजार बढी अझै बेपत्ता

काठमाडौ, २८ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६४ जनाको भेटिएको छ। त्यस्तै नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको छ। यसैगरी गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेकामध्ये १ हजार २३० शवको पहिचान तथा कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिसकिएको छ। पहिचान हुन बाँकी शवहरूको भने डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको छ।

हालसम्म मृतक र तिनका आफन्त गरी कुल ३ हजार १३२ वटा डीएनए नमुना संकलन भइसकेको छ। पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण सर्वसाधारणको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ।

विनाशकारी बाढीमा परेका ४ हजार ८९ जना अझै बेपत्ता रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यका लागि हाल ७ हजार ९७५ जना प्रहरी कर्मचारी निरन्तर खटिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button