वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

स्याङ्जा, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका ३१ वर्षीय सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीका अनुसार वडा कार्यालय परिसरमै वडाध्यक्ष वोस्तीमाथि मोबिल छ्यापेपछि थापा मगरलाई नियन्त्रणमा लिइएको हो। घटनामा संलग्नता र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विभिन्न विषयमा सहमति भए पनि सार्वजनिक सुनुवाइ नगरेको आरोप लगाउँदै सोमबार वडा सदस्यसहितको टोलीले वडाध्यक्ष वोस्तीलाई कालोमोसो दल्ने प्रयास गरेको थियो। कालोमोसो दल्न नसकेपछि उनीहरूले वडाध्यक्षको शरीरमा मोबिल छ्यापेका थिए।
यसैबीच नेकपा (एमाले) स्याङ्जाले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष वोस्तीमाथि अभद्र व्यवहार गर्ने सन्तोष राना, सन्तोष थापा मगर र मुक्तबहादुर थापालाई कडा कारबाही गर्न माग गरेको छ।



