पुलिस स्कुलका विद्यार्थीले गरे खाजा खर्च राहत कोषमा जम्मा, शिक्षकले पनि दिए १ दिन बराबरको तलब

काठमाडौं, १८ भदौ । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग गरेका छन्।
विद्यालयमा गठन भएको विभिन्न क्लबमा आवद्ध विद्यार्थीहरुको सक्रियतामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरुबाट समेत स्वेच्छिकरुपमा संकलित रकम विद्यार्थीहरुले आज विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उद्धेश्यले विद्यार्थीहरुबाट संकलित रकम ४७ हजार ८ सय ६० रुपैया, शिक्षक कर्मचारीहरुले प्रदान गरेको एक दिन बराबरको तलब वापतको रकम ४२ हजार ९ सय २३ रुपैयाँ र अभिभावकहरुमा समेत संकलित ५ हजार गरी जम्मा ९५ हजार ७ सय ८३ रुपैयाँ विद्यार्थीहरुले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुलाई सबै क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको देखेर विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर सहयोग गरेका हुन्। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले विद्यार्थीहरुलाई नियमित पठनपाठनका साथै सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताको बारेमा समेत बिशेष प्रशिक्षण गर्दै आइरहेकाले विद्यार्थीहरुमा मानवीय सहायता एवम सहयोगी भावनाको विकास भएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।
विद्यार्थीहरूले आफ्नो खाजा खर्च मात्रै संकलन नगरी शिक्षक एवम कर्मचारीका साथै आफ्ना अभिभावकहरुलाई समेत सहयोगको लागि अपिल गरेका थिए। कतिपय अभिभावहरुले विद्यालय प्रशासनमानै आएरै सहयोग रकम हस्तान्तरण गरेका थिए भने कतिपयले विभिन्न माध्यमबाट प्रधानमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराएको जानकारी दिएका छन्।
कक्षा १ देखी १० सम्म गरी सात सय जना विद्यार्थी, ४० जना शिक्षक कर्मचारी र अभिभावकको समेत गरी संकलित ९५ हजार ७ सय ८३ रुपैयाविद्यालय प्रशासनमा प्राप्त भएको हुँदा प्रधानमन्त्री राहत कोषमा जम्मा गरीने विद्यालयका समादेशक प्रहरी निरीक्षक थापाले बताए।
विद्यालयले शिक्षक, अभिभावक र विद्यार्थीलाई समेत विभिन्न समयमा विपदीय जोखीम न्युनिकरण, दुर्घटना न्युनिकरण, कानुनी एवम सुरक्षा सचेतनाका साथै सामाजिक व्यवहार एवम आचरणको बारेमा समेत विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ। गत भदौ १० गते नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले कक्षा ६ देखी १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै एक अभिभावक एक विरुवा वितरण कार्यक्रम संचालन गरेको थियो।



