समाचार

तिब्बत बाढीमा सदगुरूका ८० श्रद्धालु बेपत्ता, मागे प्रभावित क्षेत्र ग्यारोङ जाने अनुमति

काठमाडौं, ११ भदौ ।  तिब्बतको नेपाल–चीन सीमावर्ती ग्यारोङ सहरमा आएको भीषण बाढीपछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवको कैलाश यात्रामा सहभागी ८० जना श्रद्धालु बेपत्ता भएका छन्।

 

कैलाश यात्राबाट फर्किने क्रममा उनीहरू ग्यारोङस्थित एक अध्यागमन केन्द्रमा रोकिएका बेला अचानक आएको बाढीको पानी भवनभित्र पसेपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।

 

सद्गुरुले बिहीबार चिनियाँ अधिकारीसमक्ष आफू र इशा फाउन्डेसनका केही स्वयंसेवकलाई ग्यारोङ पुगेर खोजी तथा उद्धार कार्यमा सहयोग गर्न अनुमति दिन आग्रह गरेका छन्।

 

चिनियाँ अधिकारीलाई लेखेको पत्रमा उनले आफू तथा बेपत्ता व्यक्तिका परिवारका सदस्यहरू ग्यारोङ पुगेर आफ्ना आफन्तको अवस्थाबारे जानकारी लिन र सम्भावित खोजीमा सहयोग गर्न चाहेको उल्लेख गरेका छन्। उनीहरूले उद्धार टोलीको काममा कुनै अवरोध नगर्ने पनि सद्गुरुले स्पष्ट पारेका छन्। हाल सद्गुरु साकामा रहेको बताइएको छ। उनले त्यहाँबाट ग्यारोङ जाने अनुमति मागेका हुन्।

 

सद्गुरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भावुक भिडियोमा बेपत्ता श्रद्धालुहरूको सूची पढ्दै उनी भावुक बनेका छन्। उनका अनुसार बेपत्ता हुनेमा अमेरिकाका २२, क्यानडाका १२, अस्ट्रेलियाका ११, बेलायतका ९ र जर्मनीका ४ नागरिक छन्।

 

बेपत्ता ८० जनामध्ये ३४ जना पुरुष रहेका छन् भने बाँकी महिला छन्। समूहमा तीन जना स्वयंसेवक र एक जना चिकित्सकसमेत सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ।

 

नेपाल–तिब्बत सीमाक्षेत्रमा गएको भीषण हिमपहिरो तथा त्यसपछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। हिमपहिरोसँगै ठूलो मात्रामा हिउँ, चट्टान, माटो र पानी लेंडे खोला नदीमा खसेपछि बाढी आएको बताइएको छ। लेंडे खोला भोटेकोसी नदीको सहायक नदी हो।

 

बाढीले नेपालतर्फ पनि ठूलो क्षति पुर्‍याएको छ। उपलब्ध विवरणअनुसार नेपालमा मात्रै १६३ जनाको मृत्यु भएको मृतकको संख्या बढ्दै गएको र ७५० भन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ। बेपत्ता हुनेमा १३३ जना भारतीय श्रद्धालु रहेको उल्लेख छ।

यता ग्यारोङ क्षेत्रमा ५५८ जना बेपत्ता रहेको र तीमध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार उक्त शक्तिशाली भूस्खलनले ५.२ म्याग्निच्युडको भूकम्पसरह झट्का उत्पन्न गरेको थियो।

 

हाल पहाडी क्षेत्रमा फसेका मानिससम्म हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याउने तथा बेपत्ताहरूको खोजी गर्ने काम जारी रहेको बताइएको छ। सद्गुरुले पनि आफ्ना समूहका बेपत्ता सदस्यको अवस्थाबारे तत्काल जानकारी पाउन र खोजीमा सहयोग गर्न आफूलाई ग्यारोङ जाने अनुमति दिन चीन सरकारसँग आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button