अन्तराष्ट्रियखेलकुदमलेसिया बिशेषसमाचारसमाज

एन पेनाङ एफसीको शानदार जित, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपबोर्न एफसी ३–० ले पराजित

पेनाङ (मलेसिया)मलेसियाको चर्चित नेपाली फुटबल क्लब एन पेनाङ एफसी ले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अस्ट्रेलियाको नेपबोर्न एफसी माथि ३–० को प्रभावशाली जित हासिल गरेको छ।

पेनाङमा सम्पन्न खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा टुङ्ग्याएका थिए। सुरुआती ४५ मिनेटमा दुवै पक्षले केही आकर्षक अवसर सिर्जना गरे पनि कुनै टोलीले गोल गर्न सकेन।

दोस्रो हाफमा भने एन पेनाङ एफसीले खेलमाथि पूर्ण नियन्त्रण कायम गर्दै उत्कृष्ट आक्रामक प्रदर्शन गर्यो। खेलको ७१औँ मिनेटमा स्ट्राइकर मदन स्याङ्तान ले सुन्दर फिनिसिङमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ७८औँ मिनेटमा अर्को गोल थप्दै एन पेनाङ एफसीले आफ्नो अग्रता दोब्बर बनायो।

खेलको अन्तिम चरणमा पनि दबाब कायम राखेको एन पेनाङ एफसीका लागि ८८औँ मिनेटमा तेस्रो गोल सम्भव भएपछि टोलीले ३–० को प्रभावशाली जित सुनिश्चित गर्यो।

अस्ट्रेलियाबाट मैत्रीपूर्ण भ्रमणमा आएको नेपबोर्न एफसीले केही अवसर सिर्जना गरे पनि एन पेनाङ एफसीको सुदृढ रक्षापङ्क्ति तथा गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न असफल रह्यो।

प्रवासी नेपाली समुदायबीच आयोजना गरिएको यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलले विदेशमा रहेर पनि नेपाली फुटबलको विकास, खेलाडीबीचको एकता, भाइचारा तथा खेल संस्कृतिको प्रवर्द्धन गर्न सकिने सन्देश दिएको आयोजकको भनाइ छ।

यसैबीच, खेलबाट संकलित रकम घाइते नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राई को उपचारका लागि सहयोगस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ। खेलमा विभिन्न मुलुकबाट आएका नेपाली खेलप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button