भाटभटेनीमा कोरियाली ब्रान्डको १४ दिने विशेष प्रवर्द्धन अभियान सुरु।
एनआरएनएका पूर्वअध्यक्ष बिनोद कुँवरको ‘समृद्ध नेपाल’ अभियानसँग जोडियो विदेशी ब्रान्ड, स्वदेशमै उद्योग र लगानी विस्तारमा जोड

काठमाडौं,:=नेपाल–कोरिया व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भाटभटेनी सुपरमार्केटमा कोरियाली लोकप्रिय ब्रान्डहरूको १४ दिने विशेष प्रवर्द्धन अभियान सुरु गरिएको छ। नेपालका लागि दक्षिण कोरियाली दूतावास र भाटभटेनी सुपरमार्केटको संयुक्त आयोजनामा सुरु भएको अभियानको उद्घाटन नेपालका लागि दक्षिण कोरियाली राजदूत पाक थे योङको उपस्थितिमा सम्पन्न भएको हो।
अभियानअन्तर्गत कोरियाका चर्चित ब्रान्ड नोङ्सिम, लोट्टे, चोकोपाई, रेमेन लगायतका उत्पादनहरू विशेष रूपमा प्रदर्शन तथा प्रवर्द्धन गरिनेछन्। काठमाडौं उपत्यकास्थित भाटभटेनीका विभिन्न शाखामा सञ्चालन हुने अभियान अवधिभर कोरियाली उत्पादन खरिद गर्ने ग्राहकहरूलाई विशेष लक्की ड्रमार्फत आकर्षक उपहार जित्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार अभियानमा सहभागी हुने ग्राहकहरूमध्ये ५० जना भाग्यशाली विजेतालाई कोरियाली राजदूतको विशेष उपस्थितिमा आकर्षक पुरस्कार प्रदान गरिनेछ।
कार्यक्रममा दक्षिण कोरियाली दूतावासका अधिकारी, विभिन्न कोरियाली कम्पनीका प्रतिनिधि, नेपाली व्यवसायी तथा उद्योग–वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
विदेशी ब्रान्डसँगै स्वदेशी उद्योग विस्तारको लक्ष्य
नेपालमा कोरियाली उत्पादनको आयात तथा वितरणको जिम्मेवारी बीजे इन्टरनेसनलले सम्हालिरहेको छ। यो कम्पनी बिनोद कर्पअन्तर्गत सञ्चालनमा रहेको हो। कम्पनीका प्रमुख तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष बिनोद कुँवरले यो अभियानलाई केवल विदेशी उत्पादनको व्यापार नभई नेपालमा औद्योगिक विकासको आधार निर्माण गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
उनका अनुसार विदेशी ब्रान्ड, प्रविधि र व्यवस्थापन अनुभवलाई नेपालमा भित्र्याएर स्वदेशमै उत्पादन विस्तार गर्नु अहिलेको आवश्यकता हो।
कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले भने, “आफू मात्र समृद्ध भएर केही हुँदैन। देश समृद्ध बनाउन औद्योगिक क्रान्ति आवश्यक छ। देश बनेपछि हामी सबै बन्छौँ।”
गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न आग्रह
विदेशमा लामो समय व्यवसाय गर्दै आएका कुँवरले गैरआवासीय नेपालीहरूलाई अब केवल रेमिट्यान्स पठाउने होइन, स्वदेशमै उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गरे।
उनले भने, “विदेशमा रहेका नेपालीहरूसँग पूँजीसँगै अन्तर्राष्ट्रिय अनुभव, आधुनिक प्रविधि, व्यवस्थापन क्षमता र विश्व बजारसँगको पहुँच पनि छ। अब त्यो अनुभव नेपालमै उपयोग गर्ने समय आएको छ।”
उनका अनुसार नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र र गैरआवासीय नेपालीबीच प्रभावकारी सहकार्य अपरिहार्य छ।
हाइड्रोदेखि कस्मेटिक्ससम्म लगानी विस्तार
पछिल्ला वर्षहरूमा बिनोद कुँवरले नेपालमा हाइड्रोपावर, बैंकिङ, कस्मेटिक्स तथा उपभोक्ता उत्पादन क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन्। नेपाल–कोरिया व्यापारिक सम्बन्धलाई मजबुत बनाउन सक्रिय उनले विदेशी ब्रान्डलाई नेपालमा भित्र्याउनुका साथै नेपालमै उत्पादन गर्ने अवधारणालाई पनि अघि बढाएका छन्।
उनकै पहलमा नेपालमा ओरा कस्मेटिक्स तथा कोरियाली सोजु उत्पादनसमेत सुरु भइसकेको छ। यसले नेपाललाई आयातमा मात्र निर्भर बजार नभई विदेशी प्रविधि र स्वदेशी उत्पादनलाई संयोजन गर्ने औद्योगिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना देखाएको छ।
‘समृद्ध नेपाल’को आर्थिक अभियान
कुँवरका अनुसार नेपालमा सम्भावनाको कमी छैन, आवश्यकता केवल लगानी गर्ने साहस र दीर्घकालीन सोचको हो।
उनले भने, “विदेशमा सफल भएका नेपालीहरूले स्वदेशमा लगानी गरे नेपालमा उद्योग खुल्छ, उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ र अर्थतन्त्र बलियो बन्छ।”
उनको भनाइमा ‘समृद्ध नेपाल’ कुनै राजनीतिक नारा मात्र होइन, उद्योग, उत्पादन, लगानी र रोजगारीमार्फत देशको आर्थिक रूपान्तरण गर्ने साझा अभियान हो।
भाटभटेनीमा सुरु गरिएको कोरियाली ब्रान्डको १४ दिने विशेष अभियानले नेपाली उपभोक्तालाई विश्वस्तरीय उत्पादनसँग जोड्नुका साथै नेपाल–कोरिया व्यापारिक सम्बन्ध विस्तार, विदेशी लगानी आकर्षण तथा स्वदेशी औद्योगिक विकासलाई समेत नयाँ गति दिने अपेक्षा गरिएको छ।



