अन्तराष्ट्रियसमाचारसमाज

कम्बोडियामा ओल्ड दरबार होटल संचालन गर्दै समाजसेवासम्म एनआरएनए बरिस्ठ उपाध्यक्ष प्रदीप र कोसाध्यक्ष खिमको जोडी

व्यवसायमा इमान्दारिता, समाजसेवामा समर्पण र एनआरएनए कम्बोडियामार्फत समुदायको सेवामा निरन्तर सक्रियताको अठोट

कम्बोडिया,विदेशी भूमिमा सफलता हासिल गर्नु आफैंमा चुनौतीपूर्ण यात्रा हो। भाषा, संस्कृति, कानुनी व्यवस्था र प्रतिस्पर्धाबीच आफ्नो पहिचान स्थापित गर्नु सहज हुँदैन। तर, दृढ इच्छाशक्ति, अथक मेहनत, इमान्दारिता र सेवाभावलाई जीवनको मूल मन्त्र बनाएर अघि बढ्ने नेपाली युवाहरूका लागि असम्भव भन्ने शब्द रहँदैन। कम्बोडियामा सफल व्यवसायीका रूपमा स्थापित प्रदीप अधिकारी र खिमबहादुर खड्का यही सत्यका जीवन्त उदाहरण हुन्।

बागलुङ जिल्लाको गलकोट नगरपालिका ३ का प्रदीप अधिकारी र खिमबहादुर खड्का रोजगारीका लागि सन् २०१२ मा कम्बोडिया पुगेका थिए । सुरुमा रोजगारीको लागि पुगेपनी व्यवसायिक सम्भावनाको खोजी गर्दै उनिहरुले संघर्षपूर्ण यात्रा सुरु गरे । दुखपछी सुख आउँछ भन्ने दृढ ईच्छाशक्ति भएका यो जोडिको समान सोच, पारदर्शी कार्यशैली र आपसी विश्वासले उनीहरूलाई व्यवसायिक साझेदार बनायो। एउटै गाउमा जन्मी हुर्की बिद्यालय जीवन सङ्गै बिताएका उनीहरूको साझेदारी कम्बोडियामा नेपाली युवाहरूका लागि सफल व्यवसायिक सहकार्यको उत्कृष्ट उदाहरण बनेको छ।

हाल प्रदीप अधिकारी र खिमबहादुर खड्काले संयुक्त रूपमा ओल्ड दरबार होटल एण्ड रेस्टुरेन्ट,क्लासिक ईन्डिया रेस्टुरेन्ट,युरो कफी एन्ड बेकरी सपसङ्गै पर्यटन सेवा लगायत विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन्। कम्बोडियाको राजधानी फ्नोमपेन्हमा सञ्चालित ओल्ड दरबार होटल नेपाली समुदायका साथै विदेशी पर्यटकमाझ पनि परिचित गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। नेपाली स्वाद, आत्मीय आतिथ्य, गुणस्तरीय सेवा र ग्राहकप्रतिको जिम्मेवार व्यवहारले होटलले छोटो समयमै राम्रो प्रतिष्ठा कमाउन सफल भएको छ।

तर, उनीहरूको परिचय केवल सफल व्यवसायीका रूपमा मात्रै सीमित छैन। कम्बोडियामा रहेका नेपाली समुदायका लागि प्रदीप अधिकारी र खिमबहादुर खड्का भरोसा, सहयोग र आत्मीयताका अर्को नाम बनेका छन्। नेपालबाट अध्ययन, रोजगारी, व्यवसाय वा भ्रमणका लागि कम्बोडिया पुग्ने, यहि ब्याबसाय र रोजगारको लागि रहेका नेपालीलाई आवश्यक सूचना, बसोबासको व्यवस्था, कानुनी परामर्श, अस्पतालसम्मको समन्वय तथा अन्य विभिन्न समस्यामा उनीहरूले निस्वार्थ सहयोग गर्दै आएका छन्।

उनीहरूको विशेषता के छ भने, कसैलाई समस्या परेको खबर पाएपछि आफ्नो व्यक्तिगत काम र व्यवसायलाई समेत केही समयका लागि थाती राखेर सहयोगमा पुग्न पछि पर्दैनन्। यही कारण कम्बोडियामा रहेका धेरै नेपालीका लागि उनीहरू व्यवसायीभन्दा बढी अभिभावकका रूपमा परिचित छन्। उनीहरूको सहयोग कुनै पद, प्रतिष्ठा वा प्रचारका लागि होइन, नेपाली हुनुको जिम्मेवारीबोधबाट प्रेरित रहेको देखिन्छ।

समाजप्रतिको यही समर्पणले उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियामा पनि सक्रिय बनाएको छ। हाल प्रदीप अधिकारी वरिष्ठ उपाध्यक्ष तथा खिमबहादुर खड्का कोषाध्यक्षको जिम्मेवारीमा छन्। एनआरएनएको प्लेटफर्ममार्फत उनीहरूले नेपाली समुदायलाई एकताबद्ध बनाउने, आपतकालीन अवस्थामा सहयोग गर्ने, नयाँ आउने नेपालीलाई आवश्यक सहजीकरण गर्ने तथा सामाजिक अभियानहरू सञ्चालन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।

व्यवसाय र समाजसेवा सँगसँगै अघि बढ्न सक्छ भन्ने उदाहरण उनीहरूको जीवनले प्रस्तुत गरेको छ। उनीहरूका अनुसार व्यवसायबाट प्राप्त सफलताको वास्तविक अर्थ समाजलाई केही फर्काउन सक्दा मात्रै सार्थक हुन्छ। यही सोचका कारण उनीहरू सामाजिक उत्तरदायित्वलाई व्यवसायको अभिन्न पक्ष मान्छन्।

आगामी दिनमा उनीहरूको लक्ष्य अझ ठूलो छ। कम्बोडियामा आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाइरहेका उनीहरू नयाँ क्षेत्रमा पनि लगानी गर्ने तयारीमा छन्। त्यति मात्र होइन, मातृभूमिप्रतिको अगाध माया बोकेका यी युवा व्यवसायी नेपालमै पनि लगानी गर्ने योजनामा छन्। नेपालमा राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सुनिश्चित भए आफूहरूले स्वदेशमै उल्लेखनीय लगानी गर्ने उनीहरूको विश्वास छ।

विशेष गरी नेपालमा आधुनिक अवधारणासहितको हट पोट रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी उनीहरूले अघि बढाएका छन्। यसमार्फत नेपाली युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको खानपान संस्कृतिलाई नेपालमा विस्तार गर्ने उनीहरूको उद्देश्य रहेको छ।

विदेशमा बसे पनि उनीहरूको मन सधैं नेपालमै धड्किन्छ। नेपालको विकास, समृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रले खेल्न सक्ने भूमिकाप्रति उनीहरू स्पष्ट छन्। अवसर पाए स्वदेश फर्केर आफ्नै देशमा लगानी गर्ने र युवाहरूलाई रोजगारी दिने उनीहरूको चाहना छ।

प्रदीप अधिकारी र खिमबहादुर खड्काको जीवनयात्रा एउटा स्पष्ट सन्देश हो इमान्दारिता, निरन्तर मेहनत, आपसी विश्वास र सेवाभावले विदेशमा मात्र होइन, जहाँसुकै पनि सफलता हासिल गर्न सकिन्छ। व्यवसायबाट आर्थिक सफलता प्राप्त गर्नु एउटा उपलब्धि हो, तर समाजको विश्वास जित्नु त्योभन्दा ठूलो उपलब्धि हो। आज कम्बोडियामा यो जोडी सफल व्यवसायी मात्र होइन, नेपाली समुदायको भरोसाको केन्द्र, समाजसेवाको प्रेरक र नयाँ पुस्ताका लागि अनुकरणीय उदाहरणका रूपमा स्थापित भएको छ।

ओल्ड दरबार होटललगाएतका ब्याबसाय उनीहरूको व्यवसायिक सफलताको प्रतीक हो भने समाजसेवा उनीहरूको वास्तविक परिचय बनेको छ। विदेशमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपालीपनप्रतिको गर्व र समाजप्रतिको उत्तरदायित्वलाई कहिल्यै नबिर्सने यो जोडी वास्तवमै विदेशमा रहेका नेपाली युवाहरूका लागि प्रेरणाको उज्यालो उदाहरण बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button