
वीरगञ्ज, असार ६ । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम ले वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूसँग सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रममा महानगरभित्रको विकास निर्माण, सुशासन, जनसेवा तथा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत छलफल भएको थियो। सहभागी वडा सदस्यहरूले आफ्ना वडाका आवश्यकता, चुनौती, जनचासोका विषय तथा विकासका प्राथमिकताबारे धारणा र सुझाव प्रस्तुत गरेका थिए।
अन्तरक्रियाका क्रममा महानगरपालिकाद्वारा सञ्चालित विकास योजनाहरूलाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, जनगुनासोको शीघ्र सम्बोधन गर्ने तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने विषयमा विशेष जोड दिइएको थियो।
कार्यवाहक नगर प्रमुख आलमले जनप्रतिनिधिहरूबीचको समन्वय र सहकार्यबाट मात्रै महानगरको समग्र विकास सम्भव हुने बताउँदै विकास, सुशासन र जनउत्तरदायी सेवाप्रति महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
उहाँले वडा तहबाट प्राप्त सुझाव र आवश्यकतालाई योजनाबद्ध रूपमा सम्बोधन गर्दै नागरिकको अपेक्षाअनुसारको सेवा प्रदान गर्न महानगरपालिका निरन्तर सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी सम्पूर्ण वडा सदस्य तथा जनप्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै आलमले वीरगञ्ज महानगरपालिकालाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री संस्थाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता दोहोर्याउनुभयो।



