चिनियाँसँग बिहे गराइदिने भन्दै चीन पुर्‍याएर बन्धक, एक जना पक्राउ

78

काठमाडौं– चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन् । राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले जनाएको छ ।

राईले फेसबुक म्यासेन्जरबाट ती महिलालाई कुराकानी गरी चिनियाँसँग काठमाडौंको ठमेलमा बोलाएकी थिइन् । ती चिनियाँले महिलालाई बिहे गरेर २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएका थिए । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ती चिनियाँले १ लाख ५० हजार रुपैयाँमा बेचबिखन गरी नेपाल फर्किएका थिए ।

उनले ती महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए । महिलालाई चीनस्थित नेपाली राजदूतावासले असार ९ गते उद्धार गरी चीनबाट नेपाल फर्किने वातावरण मिलाएको थियो ।

महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको मिश्रले बताए । घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a comment