अन्तराष्ट्रिय

चिनियाँ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गर्नुपर्ने एकता अभियान माग

काठमाडौँ । राष्ट्रिय एकता अभियान नेपालले चिनियाँ राजदूत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न माग गरेको छ । अभियानले आइतबार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाउँदै राजदूत सङलाई पर्सना नन ग्राटा घोषणा माग गरेको हो ।

हालै राजदूत छन सङले एक भाषणमा भारतसँग नेपालको सम्बन्धको आलोचना गरेका थिए । त्यही विषय स्मरण गराउँदै यस्ता गैरकूटनीतिक अभिब्यक्ति दिने राजदूतलाई फिर्ता पठाउनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ । भारतसँगको व्यापारमा घाटा भइरहेकाले नेपालले चीनसँग व्यापार विस्तार गर्नुपर्ने उनको भनाइ नितान्त गैरकूटनीतिक भएको भन्दै अभियानले राजदूत छन सङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्नुपर्ने माग गरेको हो ।

चिनियाँ राजदूतको भनाइ नेपालको आन्तरिक मामिलामा गरिएको कडा र अशोभनीय टिप्पणी भएको अभियानले जनाएको छ। नेपालले चीन र भारत दुवैसँगको सम्बन्ध सन्तुलनमा ल्याउने प्रयास गरिरहेका बेला आएको यस्तो अभिब्यक्तिका विषयमा नेपाल सरकारले कुनै प्रतिक्रिया नदिनु रहस्यमय भएको पनि ज्ञापन पत्रमा उल्लेख छ ।

‘भारतसँगको उर्जा व्यापार सम्झौतालाई नेपाल सरकारले उल्लेखनीय उपलब्धि मानेको छ । र नेपाल–भारत विद्युत व्यापारको विस्तार नेपालको घोषित नीति हो’ ज्ञापन पत्रमा भनिएको छ, ‘राजदूत छनको त्यो भनाइ नेपाल सरकारको नीतिको ठाडो विरोध मात्र होइन, सामान्य कूटनीतिक शिष्टाचारको उल्लङ्घन पनि हो।’

ज्ञापन पत्र बुझाउन अध्यक्ष यादव, वरिष्ठ नेता वीपी यादव, महासचिव डा।प्रभात कुशवाहा, महिला संयोजक रीता साह, मधेश सम्पर्क समिति काठमाडौँका संयोजक विनोद सिंह, सल्लाहकार जयनारायण यादव, युवा प्रमुख दिवस पटेल, धीरज गिरी, विद्यार्थी परिषदका महासचिव पप्पु यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, अभियन्ता गणेशकुमार सिंहलगायत मन्त्रालयमा पुगेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button