मधेस प्रदेशराजनीतिसमाचार

धनुषा प्रहरीको नियन्त्रणबाट नाटकीय रूपमा उम्किएका कुशेश्वर भाग्दै गर्दा जटहीबाट पक्राउ !

धनुषा प्रहरीको नियन्त्रणबाट नाटकीय रूपमा उम्किएका ठगी मुद्दाका फरार प्रतिवादी कुशेश्वर साह अन्ततः पक्राउ परेका छन्। भाग्दै गरेको अवस्थामा उनलाई आज बिहान धनुषाको सीमावर्ती क्षेत्र जटहीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएका ५४ वर्षीय साहलाई यसअघि धनुषा प्रहरीले नियन्त्रणमा लिएर पनि छाडिदिएको आरोप लागेको थियो।

सिरहाको मुसहरनियाँस्थित कौशल एग्रो राइस मिलका सञ्चालक साहमाथि किसानबाट उधारोमा धान खरिद गरी ४५ लाख रुपैयाँभन्दा बढी भुक्तानी नगरेको आरोप छ।

२०८१ सालमा चार जना किसानले साहको मिलमा धान बिक्री गरेका थिए। किसान रामनाथ साहले २१ लाख, प्रवेश साहले ४ लाख, दिनेश साहले १० लाख र अशोक महतोले १० लाख रुपैयाँ बराबरको धान उधारोमा बिक्री गरेका थिए। तर, पटकपटक रकम माग्दा पनि भुक्तानी नपाएपछि उनीहरू प्रहरीको शरणमा पुगेका थिए।

किसानहरूले २०८१ पुसमै इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिन खोजे पनि सुरुमा प्रहरीले दर्ता गर्न मानेको थिएन। जिल्ला प्रहरी, प्रशासन, मधेश प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसम्म धाएपछि करिब डेढ वर्षमा मात्रै जाहेरी दर्ता भएको थियो। त्यसपछि साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

गत शुक्रबार लहानबाट सादा पोसाकमा खटिएको प्रहरी टोली पीडितलाई समेत लिएर जनकपुरधाम पुगेको थियो। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित बंशीचोकको काली होटलनजिकै साहलाई हत्कडी लगाएर नियन्त्रणमा लिइएको थियो।

तर, मुजेलिया प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थित नगराई बीच बाटोबाटै छाडिदिएको पीडित पक्षको आरोप थियो। प्रहरीले ‘माथिबाट फोन आएको’ भन्दै साहलाई घरसम्मै पुर्‍याइदिएको पीडित पक्षले दाबी गरेको थियो। उक्त घटनाको सीसीटीभी फुटेजसमेत रहेको उनीहरूको भनाइ थियो।

यता, प्रहरी स्रोतका अनुसार साह र उनकी श्रीमती बिरामी भएको बहाना बनाएर नवजीवन अस्पताल भर्ना भएका थिए। अस्पतालबाट लुगा लिन घर जानुपर्ने भन्दै साह एक प्रहरी हवल्दारसँग घर पुगेका थिए। घर पुगेपछि चुकुल लगाएर लुकेका साहलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली बोलाएर घर घेरिएको थियो। तर, प्रहरीको घेराबाटै उनी नाटकीय शैलीमा फरार भएको स्रोतको भनाइ छ।

धनुषा प्रहरीको कमजोरीका कारण अभियुक्त फरार भएको विषयमा नेपाल प्रेसले समाचार प्रकाशित गरेपछि उनको खोजीमा मधेश प्रदेश प्रहरी कार्यालयले समेत चासो देखाएको थियो। समाचारको कटिङसहित सम्बन्धित निकायमा जानकारी पठाइएपछि धनुषा प्रहरीमाथि साहलाई खोजी गरी पक्राउ गर्न दबाब परेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button